न्युयोर्क

फिप्नाको नेतृत्व मानबहादुर रानाको काँधमा

जनजातिको मुद्दालाई नयाँ ढंगले अघि बढाउने

गोकुल श्रेष्ठ, न्यूयोर्क
अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । 
जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा जयवीर गुरुङ र फुर्पा लामा ह्योल्मो पनि निर्विरोध निर्वाचित भएका हुन् । तर अध्यक्ष र महासचिव पदका लागि भने चुनाव गर्नु परेको थियो । निर्वाचित रानामगरले प्रतिद्वन्दी मणि वाङ्देल राईलाई १८ मतको अन्तरले पराजित गरेका थिए । उनले कुल मतको ४० मत प्राप्त गरेका थिए भने राईले २२ मत प्राप्त गरेका थिए ।

त्यस्तै महासचिव पदका लागि भएको निर्वाचनमा प्रेम गुरुङ ४० मतले विजय भएका थिए भने प्रतिद्वन्दी विनिता तामाङले २२ मत प्राप्त गरेकी थिईन् । विजयी सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सोही दिन पद तथा गोपनीयताको सपथ गराईएको थियो । नव निर्वाचित अध्यक्ष राना मगर फिप्नाका पूर्व महासचिव हुन् भने मगर संघ अमेरिकाका वर्तमान महासचिव हुन् । त्यस्तै उनी न्यूयोर्क समाचार इन्टरनेशनल इंकका कार्यकारी निर्देशक समेत हुन् । लामो समयदेखि न्यूयोर्कमा रहेर आदिवासी जनजाति आन्दोलनमा सहभागि भएका राना मगर अहिले भने न्यूयोर्कको अल्वानीमा बस्दै आएका छन् । 

अध्यक्ष राना मगरले न्यूयोर्क समाचारसँग कुरा गर्दै भने– ‘हामीले फिप्नालाई सबैको साझा संस्थाको रुपमा थप विकास गर्दै नेपालमा भईरहेको पहिचानको आन्दोलन र आदिवासी जनजातिहरुको हक अधिकारका लागि थप दवाव सृजना गर्नेछौं ।’ त्यस्तै उनले नेपाली डायस्पोरामा नेपाली पहिचान र सांस्कृतिक संरक्षणका लागि विशेष कार्यक्रम अघि बढाउने बताए । फिप्नाका भावी कार्यक्रम बारे राखेको जिज्ञासामा उनले भने– ‘हामीले विगतमा फिप्नाले सुरु गरेका कार्यक्रमहरुलाई निरन्तरता दिंदै थप महत्वाकांक्षि योजनाहरु ल्याउने तयारी गरेका छौं । त्यसका लागि हामीले कार्यसमितिको बैठक गरी सार्वजनिक गर्ने छौं ।’ उनले फिप्नालाई आर्थिक रुपमा भार नपर्ने गरी विशेष कार्यक्रमहरु ल्याउने बताए । फिप्नाका अधिकांश कार्यक्रमहरु न्यूयोर्क केन्द्रित हुने र त्यसका लागि भौगोलिक दुरीले कुनै फरक नपार्ने उनको तर्क छ । उनी भन्छन्– ‘म अल्वानीमा बस्ने भए पनि न्यूयोर्कका महत्वपूर्ण कार्यक्रहरुमा सक्रिय सहभागिता जनाउने छु ।’ उनले फिप्नालाई नेतृत्व विकास र हस्तान्तरण मैत्री संस्थाको रुपमा विकास गर्न जरुरी रहेको भन्दै हरेक कार्यक्रमका लागि जिम्मेवारी वाँडफाँड गरिने बताए ।

फिप्नाको इतिहास 

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) अमेरिकी नेपाली डायस्पोराको सबैभन्दा ठूलो सामाजिक संस्था हो । सन् २००५, जतिबेला नेपालमा पहिचानको आन्दोलनले गति लिईरहेको थियो, त्यतिबेला अमेरिकामा छरिएर रहेका (खासगरी न्यूयोर्कलाई केन्द्र बनाएका) विभिन्न पहिचानवादी संघसंस्थाहरुको पहलमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) गठन भएको हो ।

फिप्ना गठन भएसँगै न्यूयोर्कमा छरिएर रहेका विभिन्न पहिचान पक्षधर संघसंस्थाहरु एउटै छातामुनी गोलबद्ध भएका हुन् । यद्यपी फिप्ना गठन भएपछि यसको नामकै विषयमा विवाद भएको थियो । ग्लोबल जनजाति महासंघको नामबाट स्थापना भएको यो संस्था २००७ सालमा  नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका बन्यो । महासंघ गठन गर्दा संसारभरी छरिएर रहेका नेपालका आदिवासी जनजातिहरुलाई समेटेर अघि बढ्ने उद्देश्य राखिएको थियो । तर न्यूयोर्कलाई केन्द्र बनाएर गठन भएका अन्य पहिचानवादी संघसंस्थाहरुले यसको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि यसको नाम नेपाल आदिवासी जनजाति महासंघ बनाईएको हो । महासंघ गठनमा प्रमुख भूमिका निर्वाह गर्ने जनजाति अगुवा केशवराम राई भन्नुहुन्छ– ‘हामीले सुरुमा संसारभरी छरिएर रहेका नेपालका आदिवासी जनजातिहरुलाई समेट्ने गरी संस्था गठन गरेका थियौं । किनभने न्यूयोर्क विश्व राजनीतिको केन्द्र, जहाँ संयुक्त राष्ट्रसंघको मुख्यालय छ, त्यस्तो स्थानबाट हामीले सबैलाई समेट्नु पर्छ र समेट्न सकिन्छ भन्ने उद्देश्य राखेका थियौं । तर अन्य संघसंस्थाहरुले उक्त नाममा चित्त नबुझाएपछि हामीले यसको नाम परिवर्तन गर्दै सुरुमा न्यूयोर्क केन्द्रित महासंघ बनाएका हौं । यद्यपी अहिले यो अमेरिकाका अन्य स्थानमा पनि विस्तारको चरणमा छ ।’

अमेरिकामा नेपालीहरुको संख्या बढेसंगै पहिचानवादी संघ संस्थाहरुको गठन पनि उत्तिकै रुपमा वृद्धि भईरहेको थियो । सन् २००५ को डिसेम्बर १ तारिखमा छरिएर रहेका पहिचानवादी आदिवासी जनजाति संगठनहरुले एक भएर छाता संगठनको रुपमा फिप्ना गठन गर्ने निर्णय गरेका हुन् । न्यूयोर्कमा रहेका आदिवासी जनजाति अगुवाहरुको पहलमा न्यूयोर्कको ज्याक्सन हाईटस्मा आयोजना गरिएको भेलामा करिव एक सय जना जनजाति अगुवाहरुको उपस्थिति रहेको थियो । उक्त भेलाले कर्मा ग्याल्जेन शेर्पाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरी महासंघलाई औपचारिकता दियो । उक्त समितिमा नेपाल किराँत राई सोसाईटी आफ अमेरिकाबाट नारदमुनि राई, शेर्पा किदुकबाट पासाङ शेर्पा, नेवारी समुदायबाट अञ्जन श्रेष्ठ, तामाङ सोसाईटी अफ अमेरिकाबाट सुवास तामाङ, किराँत याक्थुम चुम्लुङबाट पूर्ण थेवे, लाङ्घाली संघबाट नगेन्द्र राना, गुरुङ (तमु) सोसाईटी इंक, अमेरिकाबाट नारायण गुरुङ र मुस्ताङ किदुकबाट सोनाम लामा सदस्य रहेका थिए ।

सन् २००५ मा किराँत राई सोसाईटी अफ अमेरिकाको पूर्ण बैठकले अमेरिकामा छरिएर रहेका पहिचानवादी संगठनहरुलाई गोलबद्ध गरि नेपालमा अघि बढेको पहिचानको आन्दोलनलाई सहयोग गर्दै अघि बढ्नु पर्ने निर्णय गरेको थियो । महासंघ गठनका लागि किराँत राई सोसाईटी अफ अमेरिकाले सम्पूर्ण पहिचानवादी संघसंगठनहरुलाई पत्राचार गरेको थियो । पत्राचार अनुसार २०१५ को डिसेम्बर ४ तारिख आईतबार महासंघ गठनको तयारी भएको थियो । तर त्यसको तीन दिन अगाडि अर्थात २००५ डिसेम्बर १ तारिखमा महासंघ गठन भएको थियो । त्यसका लागि आदिवासी जनजाति अगुवा केशवराम राई लगायतले गरेका थिए । 

सुरुका दिनमा जुन उद्देश्यका साथ महासंघ गठन भएको थियो । सोही अनुरुप अघि बढ्न नसके पनि छरिएर रहेका जनजाति संगठनहरुलाई एउटै छाता मुनी ल्याउन सफल भएको संस्थापकहरुको भनाई छ । यद्यपी पछिल्लो ४÷५ वर्षको अवधिमा महासंघले उद्देश्य अनुरुप गति लिएको उनीहरुको दावी छ । नेपालमा आदिवासी जनजाति आन्दोलन चर्किरहेको समयमा फिप्नाले औपचारिक रुपमा आफ्नो उपस्थिति जनाउन नसके पनि नैतिक समर्थन गरिरह्यो । तर पछिल्लो समयमा फिप्नाले नैतिक मात्र होईन, आन्दोलनका लागि आर्थिक सहयोग समेत ग¥यो । 

सुरुका चरणमा छरिएका संगठनहरुलाई महासंघमा आवद्ध बनाए पनि यसको उद्देश्य अनुरुप अघि बढाउन निकै कठिन भयो । महासंघमा अहिले जनजाति संगठनमात्र होइन अन्य क्षेत्रीय संगठनहरु पनि आवद्ध छन्, जसले पहिचानको पक्षमा अभियान चलाईरहेका छन् । महासंघमा आवद्ध गराउन र यसको उद्देश्यका बारेमा प्रष्ट पार्न भने त्यति सहज थिएन । यद्यपी फिप्नाका विभिन्न कार्यसमितिले क्रमशः महासंघलाई अघि बढाईरहे र जनजाति संगठन मात्र होईन पहिचानवादी क्षेत्रीय संगठनहरु पनि यसकै छाता मुनी गोलबद्ध हुन पुगे । अहिले महासंघमा १४ वटा पहिचानवादी संगठनहरु गोलबद्ध छन् । महासंघमा १८ वटा संस्था आवद्ध भए पनि विभिन्न प्रक्रिया पूरा नभएका कारण ती संस्थाहरुको आवद्धता रद्द भएको हो । 

महासंघ गठन भएसँगै न्यूयोर्कमा छरिएर रहेका आदिवासी जनजाति संगठनहरु एक मात्र भएनन् । उनीहरुले आफ्ना मुद्दाहरुलाई बुलन्द पार्दै होस्टेमा हैसे गर्दै अघि बढ्न थाले । फिप्नाले क्रमशः आदिवासी जनजातिका मुद्दाहरुलाई अघि बढाउन थाल्यो । नेपालमा पहिचानको आन्दोलन चर्किरहँदा फिप्नाले नैतिक समर्थन गर्ने मात्र होइन, त्यसका लागि विभिन्न दवाव मुलक कार्यक्रमहरु अघि बढाउन थाल्यो । नेपालका प्रधानमन्त्री, मन्त्रि, सरकारी अधिकारी तथा राजनीतिक दलका नेताहरु अमेरिकाको भ्रमणमा रहँदा अन्तरक्रिया कार्यक्रम गरेर आफ्ना मागहरुलाई स्पष्ट रुपमा अघि बढाईरह्यो । जसका कारण पनि नेपालको पहिचानको आन्दोलनमा यसले एउटा ईट्टा थप्ने काम ग¥यो । महासंघले जनजातिका कला र संस्कृति संरक्षणका लागि गरिने हरेक कार्यक्रममा आफ्नो ऐक्यवद्धता जनाउँदै आएको छ । त्यतिमात्र होइन नेपाली डायस्पोरामा गरिने सबै कार्यक्रममा फिप्नाले सहभागिता जनाउँदै आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ ।

सुरुका चरणमा फिप्नाले आदिवासी जनजातिको पक्षमा आफ्नो कार्यक्रमलाई मुख्य एजेण्डा बनाए पनि पछिल्लो समयमा भने यसले नेपाल र नेपालीको पक्षमा काम गर्दै आईरहेको छ । नेपालको पहिचान, नेपाली कला संस्कृतिको संरक्षण र सम्द्र्धनमात्र होईन, अमेरिकी सरकारसँग पहुँच विस्तारमा पनि फिप्ना फड्को मारिसकेको छ । त्यस्तै अमेरिकामा रहेका सम्पूर्ण नेपाली एवं नेपाली भाषी समुदायको हितका लागि यसले आफ्नो आवाजलाई बुलन्द पार्दै आएको छ । सुरुका चरणमा फिप्नाले स्थानीय सरकारलाई खोज्नु पर्ने अवस्था थियो भने अहिले स्थानीय सरकारले फिप्नालाई खोज्ने वातावरण बनेको छ । अर्थात् यसले आफ्नो पहुँचलाई साच्चिकै दरिलो, विश्वासिलो र नेपाली समुदायको अगुवा संस्थाको रुपमा विकास गरिसकेको छ । 

अमेरिकामा रहेका अधिकांश संघ संगठनहरु नेपालका राजनीतिक दलको भातृ संगठनको रुपमा वा कुनै विशेष राजनीतिक दलको सहयोगि संस्थाको रुपमा काम गरिरहेको अवस्थामा फिप्नाले भने स्थापनाकाल देखि नै यसलाई कुनै राजनीतिक दलको रङ दिएको छैन । अर्थात् यसले समग्र नेपाल र नेपालीको हितको पक्षमा काम गर्दै आएको छ । जसका कारण अहिले फिप्नामा सम्पूर्ण आदिवासी जनजाति र पहिचानका पक्षधरहरु एउटै छातामुनी गोलबद्ध भएका छन् । 

स्थापनाको चरणमा सहमतिबाट नेतृत्व पाएको फिप्नाले दोश्रो कार्यकालमा आईपुग्दा नेतृत्वका लागि लोकतान्त्रिक पद्धति अवलम्बन गर्न सुरु ग¥यो । त्यस पछाडिका नेतृत्वहरु लोकतान्त्रिक विधिबाट छनौट हुँदै आएका छन् । जसले गर्दा फिप्नाले सहि र सक्षम नेतृत्व पाएको छ । त्यतिमात्र होईन यसले शक्ति सन्तुलन, आन्तरिक समावेशिता र जवाफदेहितालाई बढावा दिईरहेको छ । 

फिप्नाका उपलब्धी

फिप्नाले स्थानीय आदिवासी जनजातिहरुलाई एकताबद्ध गर्दै पहिचानको आन्दोलनमा ईट्टा थप्ने काम त ग¥यो नै । त्यसका अलावा भाषा, कला, संस्कृति र परम्परा रक्षा र प्रवद्र्धनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ । 

त्यो बाहेक फिप्नाले संयुक्त राष्ट्र संघको मञ्चमार्फत नेपालका आदिवासी जनजातिका सरोकारका मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गरेको छ । जस्तैः विश्व आदिवासी सम्मेलन र संयुक्त राष्ट्र संघको आदिवासी स्थायी मञ्चका वार्षिक बैठकहरुमा सहभागिता । नेपाल सरकारले आदिवासी जनजातिहरुप्रति लिएको नीतिको बारेमा अन्तरराष्ट्रिय मञ्चमार्फत आदिवासीको अधिकारको लागि वकालत गरीएको छ । 

      
त्यस्तै नेपाल डे परेड जस्तो गरिमामय कार्यक्रमको सुत्रधार एवं नेतृत्व फिप्नाले गरेको छ । यो कार्यक्रम प्रवासमा नेपाल र नेपालीको पहिचानको लागि गरिने कार्यक्रम हो । 

आदिवासी चलचित्र महोत्सव आयोजना गरेर नेपालको साँस्कृतिक विविधताको विशेषतालाई उजागार गर्दै आदिवासी चलचित्रहरुको अन्तरराष्ट्रिय प्रवद्र्धन गर्ने कार्य फिप्नाले गरेको छ । कालान्तरमा नेपालमा आदिवासी चलचित्र उद्योगको विकासको लागि सुत्रपात गरिएको छ । 

त्यस्तै स्थानीय अमेरिकी सरकारसंग फिप्नाले सिङ्गो नेपाली डायस्पोराको निम्ति पुलेसोको काम गर्न सफल भएको छ । न्युयोर्क शहरको स्थानीय सरकारले फिप्नालाई साँस्कृतिक विविधतालाई प्रवद्र्धन गर्दै प्रवासी समुदायको अधिकारको सुनिश्चिताको निम्ति अहम भूमिका निर्वाह गरेकोमा फिप्ना सम्मानित भएको छ । हिजोको दिनमा फिप्नाले स्थानीय सरकारलाई खोजि हिड्नु पथ्र्यो भने आज स्थानीय सरकारले फिप्नालाई खोजि गर्दै हिडेको परिस्थिति छ ।

न्यूयोर्क केन्द्र बनाएर गठन गरिए पनि फिप्नाको उद्देश्य अमेरिका भरी छरिएर रहेका आदिवासी जनजाति संगठनहरुलाई एउटै छातामुनी ल्याउनु हो । यसले आफ्नो संगठन विस्तार अमेरिकाको उत्तरपूर्वी क्षेत्रबाट पश्चिमी क्षेत्रसम्म पु¥याउन सफल भएको छ । 

त्यतिमात्र होइन फिप्नाको नेतृत्वमा लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्नका लागि चौतर्फि दवाव श्रृजना गरिएको थियो ।
sth.gokul@gmail.com