खेलकुद

सन्दिपको छलाङ, दिल्लीले किन्यो ३२ लाखमा

काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् । सन्दीपलाई दिल्लीले आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अक्सनबाट २० लाख भारतीय रुपैयाँमा आफ्नो क्लबमा आवद्ध गरेको हो । आईपीएलका लागि छनोट हुने लामिछाने पहिलो नेपाली क्रिकेटर हुन् । 
सन्दीप लामिछाने नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यतिमात्रै नभएर विश्व क्रिकेट जगतकै ध्यान तान्न सक्ने प्रभावशाली खेलाडी हुन् उनी । सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्यान्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्रै बनाएको थियो । आयरल्यान्डका अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दीपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
आयरल्यान्डविरुद्ध सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । पहिलो स्थानमा भने नामिवियाका फ्रिट्ज कोएत्जी भए । सन्दीपले विश्वकपमा १४ विकेट लिए भने कोएत्जीले १५ विकेट लिएका थिए ।
गत साउनमा सिंगापुरमा सम्पन्न आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा सन्दीपले नेपालले खेलेको सबै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ खेलबाट २४ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा आयोजक सिंगापुरविरुद्ध ५ विकेट लिएका थिए । निकै किफायती बलिङ गरेका सन्दीपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले २.६२ को इकोनोमीमा बलिङ गरेका थिए ।
दोस्रो खेलमा पनि सन्दीपले मलेसियाका ब्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए । उनले यो खेलमा पनि ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै १७ रनमात्र खर्चेका थिए । तेस्रो खेलमा अफगानिस्तानसँग सन्दीपले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर ३० रन खर्चिदै २ विकेट लिए । 
राउन्ड रोविनको आधारमा सञ्चालन खेलमा सन्दीपले पुनः सिंगापुरविरुद्ध १० ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । सन्दीपले मलेसियासँगको पाँचौं खेलमा ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए । 
सन् २००० मा जन्मिएका सन्दीपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जामा बिताएका सन्दीपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दीपले १०१६ मा डेब्यु गरेका थिए । 
२०१५ मार्च ४ तारिखमा चितवन गएका तत्कालीन नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपको खेल देखेर काठमाडौं बोलाएका थिए । अवसरको पर्खाइमा रहेका सन्दीपको क्रिकेट यात्रा त्यहीदेखि सुरुवात भएको हो । सामान्य परिवारमा जन्मिएका सन्दीप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । दुबै खेलमा नेपालले नामिवियालाई पराजित गरेको थियो । त्यसपछि सन्दीप नेपाली टिममा निरन्तर छन् । उमेर समूहमा पनि उनले पटक-पटक चामत्कारिक प्रदर्शन गरेका छन् ।