न्युयोर्क

न्यूयोर्कमा भव्य बन्यो माघे संक्रान्ति कार्यक्रम

न्यूयोर्क । मगरहरुको महान पर्व माघे संक्रान्ति न्यूयोर्कमा भव्य रुपमा मनाईएको छ । जनवरीको तेश्रो साता आईतबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरिएको ‘माघे संक्रान्ति सास्कृतिक तथा लोकदोहोरी कार्यक्रम–२०१८’ विशेष रुपमा सम्पन्न भएको हो । 

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको उक्त सांस्कृतिक तथा लोकदोहोरी कार्यक्रम विभिन्न मौलिक सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको हो । मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले वार्षिक रुपमा यो कार्यक्रम मनाउँदै आएको छ । कार्यक्रम औपचारिक र सांस्कृतिक गरि दुई चरणमा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति नेपाली महाबाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्य दूत मधुकुमार मरासिनीले माघे संक्रान्ति पर्व को शुभकामना दिदै नेपालको विविध जातीय भाषिकÞ र सांस्कृतिक पहिचानको संरक्षण र सम्बद्र्धन गर्न माघे संक्रान्तिले विषेश मद्दत पु¥याएको भन्दै यस्ता सांस्कृतिक र मौलिक परम्परालाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा एनआरएन अमेरिकाका क्षेत्रीय उपसंयोजक नवीन शेरचन, फिप्ना संघीय परिषदका सभमुख बिनोद पोमो, मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष रूद्र आले मगरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा चर्चित लोकदोहोरी गायीका मुना थापा मगरलाई विषेश सम्मान गरिएको थियो । कार्यक्रम न्यूयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका उपाध्यक्ष याम पुनले स्वागत गरेका थिए । त्यस्तै औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपेश बाराकोटी मगरले गरेका थिए । 

सहभागीहरूले खचाखÞच भरिएको उक्त हलमा मगर समुदायका विविध मौलिक नृत्यहरू लगायत ख्यातिप्राप्त कलाकारहरू मुना थापा मगर, जगदीश समाल, सुमन बुढ़ा, संगीता थापा मगरलगायतले आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रमको संचालन लोकदोहोरी गायक राजेश थापाले गरेका थिए ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा अनादिकालदेखि बस्दै आएको मगर जाति नेपालकै पुरानो एवम् रैनाथे आदिवासी जनजातिमध्येको एक हो । नेपालभर बसोवासरत यस जाति नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्येको सबैभन्दा बढी जनसंख्या भएको जाति हो । विक्रम् संवत् २०६८ को जनगणनाअनुसार मगरहरूको कुल जनसंख्या १८ लाख ८७ हजार ७ सय तेत्तिस रहेको देखिन्छ । जुन कुल जनसंख्याको ७ दशमलव १२५ हुन आउँछ । 

मगरहरूको आफ्नो छुट्टै मौलिक भाषा छ । उनीहरू बाह्र मगराती, अठार मगरात र कैकेयी मगरभाषा गरी तीन अलग अलग भाषा बोल्दछन् । माघेसक्रान्ती मगरहरूको प्रमुख सांस्कृतिक पर्व हो । नेपाल सरकारबाट राष्ट्रिय चाडका रूपमा मान्यता प्राप्त माघेसक्रान्तिसँगै यस जातिले तिहार, वैशाख पूर्णिमा, साउने सक्रान्ति, पन्द्रपौषजस्ता चाडहरूलाई पनि भव्य रूपमा मनाउने गरिएको छ । झ्याउरे, सालेजौ, कौरा, चुट्का, टप्पा, हुर्राजस्ता लोकसंस्कृतिहरू मगर समुदायको लोकप्रिय एवम् परम्परागत संस्कृति र सम्पत्ति हुन् । साथै सोरठी, मारूनी नाँच, घाँटु, जीवै मामाजस्ता मौलिक संस्कृतिहरू मगर समुदायको पहिचान नै हुन् । 
अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्दै आएका सम्पूर्ण मगरहरूको सामूहिक एकतालाई मध्यनजर गर्दै अमेरिकाको न्यू योर्क राज्यमा सन् २००४ मार्च २८ तारिख मगर संघ अमेरिकाको आधिकारिक दर्ता र स्थापना भएको हो । देशका विभिन्न क्षेत्रबाट अमेरिकामा बसोवास गर्ने मगर समुदायबीच पारस्परिक सम्बन्ध गाँस्दै सामूहिक एक्ताले आफ्ना मौलिक एवम् परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु नै संस्था स्थापनाको मूल उद्देश्य रहेको छ । यसका साथै मगर जातिको वेशभूषा, भाषा, धर्म र संस्कृतिलाई अमेरिकामा पनि जीवित राख्दै भावी सन्ततिहरूलाई सगर्व देखाउनुलाई पनि संस्थाको स्थापनाको प्रमुख उद्देश्य रहेको छ । 
गैरनाफामूलक एवम् गैरराजनीतिक संस्थाका रूपमा स्थापित यस संस्थाले स्थापनाकालका वर्षहरूदेखि नै विभिन्न सामाजिक क्षेत्रहरूमा उल्लेख्य रूपमा काम गर्दै आएको छ । संस्थाले हालसम्ममा अमेरिकाको विभिन्न राज्यहरूमा सांस्कृतिक कार्यक्रमको अलवा नेपाल र अमेरिकाका विभिन्न क्षेत्रमा सेवामूलक कार्यहरू निरन्तर रूपमा गर्दै आएको छ ।