न्युयोर्क

उत्तर अमेरिकी तामाङ सम्मेलनबाट ११ बूँदे न्यूयोर्क घोषणा पत्र जारी

ताम्सालिङ स्वायत्त प्रदेशको घोषणा गर्न माग 

गोकुल श्रेष्ठ 
नेपालमा पहिचानको आन्दोलन उत्कर्षमा पुगेको बेला उत्तर अमेरिकामा रहेका तामाङहरु एक जुट भएर ताम्सालिङ स्वायत्त प्रदेशको घोषणा गर्न माग गर्दै ११ बुँदे न्यूयोर्क घोषणा पत्र जारी गरेका छन् ।
 
जनवरीको दोश्रो साता न्यूयोर्कमा सम्पन्न भएको ‘प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन’ ले आफूहरुलाई एकतावद्ध गर्दै नेपालमा संघीय संरचना निर्माण भैसकेको अवस्थामा अव पहिचानका लागि ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर्न माग गरेका हुन् । 
 
‘सवल समुदायको निर्माणको लागि हाम्रो संयुक्त अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा उत्तर अमेरिकी क्षेत्रमा रहेका तामाङ अगुवाका साथै नेपालबाट विज्ञहरुको टोलीसमेत सहभागि भएको थियो । 
सम्मेलनले तामाङ जातिको संस्कार, संस्कृति र भाषाको अभ्यास, संरक्षण र प्रवद्र्धनका लागि ‘तामाङ सामुदायिक साँस्कृतिक केन्द्र’ स्थानीय संस्थाको अगुवाई र केन्द्रीय नेतृत्वको समन्यवयकारी भूमिकामा आवश्यकता अनुसार निर्माण गर्दै जाने महत्वाकांक्षि योजना अघि सारेको छ । त्यस्तै सम्मेलनले प्रवासमा तामाङ भाषा प्रयोग गर्न प्रोत्साहन गर्न विज्ञहरुको सहयोगमा तामाङ भाषाको अनलाइन पाठशाला संचालन गर्ने पनि निर्णय गरेको छ ।

 

सम्मेलनले जारी गरेको ‘न्यूयोर्क घोषणा पत्र–२०१८’ को पूर्ण पाठ

प्रथम उत्तर अमेरिकी तामाङ सम्मेलन

जनवरी १३-१४, २०१८, न्युयोर्क 

न्युयोर्क घोषणापत्र – २०१८

 

सन् २०१७ जनवरी २७ को दिन तामाङ सोसाइटी अफ अमेरिकाको अतिथ्यमा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न उत्तर अमेरिकी तामाङ सम्मेलनको तयारी बैठकको म्यानडेटलाई आत्मसाथ गरेर नेपालका तामाङहरुको वृहत्तर हित एवं पहिचानको अधिकारलाई सुनिस्चित गर्ने उद्देश्य सहित तामाङ स्वविकासको अवधारणा र कार्ययोजनाहरुप्रति प्रतिबद्दत्ता जनाउदै;

सन् २०१८ जनवरी १३-१४ सम्म न्युयोर्कमा सम्पन्न उत्तर अमेरिकी तामाङ सम्मेलनमा सहभागी हामी यस क्षेत्रका विभिन्न तामाङ संघसँस्थाहरुका प्रतिनिधिहरु तामाङहरुको विविध सरोकारको विषयहरुमा बहस, छलफल र विचार विमर्श पश्चात तपसिल कार्यक्रमहरुमा स्वीकारोक्ति जनाउदै प्रभावकारी ढंगले कार्यानवयन गर्ने प्रण गर्दछौ ।

1, "Moving Forward Together to Building a Stronger Community" अर्थात "सवल समुदायको निर्माणको लागि हाम्रो संयुक्त अभियान" को मुख्य नारा सहित नेपालका तामाङहरुको आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्धेश्य राखेर उत्तर अमेरिकी क्षेत्रमा संगठित तामाङ संघ-सँस्थाहरुलाई एकताबद्द गर्ने उद्देश्य सहित न्युयोर्क राज्यमा दर्ता भएको तामाङ सोसाइटी अफ अमेरिकाको नामलाई परिमार्जन गरेर "तामाङ सोसाईटी अफ नर्थ अमेरिका" (Tamang Society of North America) नामकरण गर्दै साविक सँस्थालाई नै उत्तर अमेरिका क्षेत्रको साझा सँस्थाको रुपमा निरन्तरता दिने निर्णय गरियो । सम्मेलनले तपशिल अनुसारको लक्ष्यहरु निर्धारण गरेको घोषणा गर्दछ ।

2, हामी सम्पूर्ण तामाङहरुको आदि थलो (उत्पत्ति स्थल) जहाँ हाम्रा पुर्खाहरुले जीवन बिताए, हाम्रा देवीदेवताले बास गरे; जहाँ हाम्रा काइरान र गाथाहरु जन्मे र हाम्रा इतिहासको सृजना भयो; जहाँ हामीले आफ्नो भाषा हुर्कायौ, चाड र उत्सवहरु मनायौ र जहाँबाट हाम्रा आध्यात्मिक, भौतिक र साँस्कृतिक अस्तित्व फैलियो; जहाँबाट हामीले हाम्रा सभ्यताको प्रारम्भ गर्यौ; यही आदि थलोलाई तामाङहरुको पहिचान र अस्तित्वको आधारको रुपमा बलिरहने हाम्रो आस्था र विश्वास मानेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारसँग तामाङहरुको आदि थलोलाई ताम्सालिङ स्वायत्त प्रदेश/राज्य घोषणा गर्न सम्मेलन जोडदार माग गर्दछ साथै ताम्सालिङ प्रदेश/राज्य भित्रका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको नामकरण स्थानीय ऐतिहासिक गाथा/तथ्यको आधारमा राखिनु पर्दछ ।         

3, तामाङ जातिको संस्कार, संस्कृति र भाषाको अभ्यास, संरक्षण र प्रवर्द्दनको लागि तामाङ सामुदायिक साँस्कृतिक केन्द्र स्थानीय संस्थाको अगुवाई र केन्द्रीय नेतृत्वको समन्यवयकारी भूमिकामा आवश्यकता अनुसार निर्माण गर्दै जाने ।        

4, उच्च शिक्षा तथा लोकसेवा आयोग र अन्य निजामती सेवामा तामाङहरुको उपस्थिति वृद्धि गर्ने उद्धेश्य सहित तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्वमा नेपालमा एउटा शैक्षिक कोष खडा गर्ने ।

5, तामाङ अभिलेख, ग्रन्थकार तथा लोकग्रन्थहरुको अभिलेख राख्न आवश्यक कार्यक्रम तर्जुमा गर्दै तामाङ साहित्यको संकलन, अध्ययन, अनुसन्धान र अभिलेखीकरण गर्ने ।

6, प्रवासमा तामाङ भाषा प्रयोग गर्न प्रोत्साहन गर्न विज्ञहरुको सहयोगमा तामाङ भाषाको अनलाइन पाठशाला संचालन गर्ने ।

7, तामाङबारे समसामयिक विषयमा बौद्धिक अभ्यास गराउने र युवा पुस्तालाई उत्प्रेरणा जगाउने ।

8, नेपालका तामाङहरुको आर्थिक विकासको निम्ति विज्ञहरुको सहयोगमा आर्थिक कार्यक्रमहरु तर्जुमा गर्ने र लागू गर्ने ।

9, दिगो आर्थिक समुन्नतीको लागि प्रवासका तामाङहरुलाई नेपालमा संयुक्त आर्थिक लगानी गर्न प्रोत्साहन गर्दै प्रवासमा समेत आर्थिक लगानीमा आवश्यक वित्तीय शिक्षा र प्राविधिक सहयोग उपलब्ध गराउन कार्यक्रम तर्जुमा गर्ने । 

10, प्रवासमा सक्रिय तामाङ सँस्थाहरुबीच समन्वय गरेर ती संस्थाहरुको प्रत्यक्ष सहयोग र सहभगितामा एउटा अन्तरराष्ट्रिय तामाङ संजाल निर्माण गर्ने ।          

11, प्रथम उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजना गरेर यस क्षेत्रका तामाङ संघ-सँस्थाहरुलाई एकताबद्ध गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै हामी सबैलाई सहभागी, विचार विमर्श, सद्भाव र आत्मियता बढाउन अवसर प्रदान गरेकोमा यो सम्मेलन तामाङ सोसाइटी अफ अमेरिकाप्रति आभार प्रकट गर्दछ ।

थुजुछे !!

उत्तर अमेरिका तामाङ एकता र सम्मेलनको अवधारणा

उत्तर अमेरिकी क्षेत्रका तामाङहरुलाई एकीकृत गरेर साझा संगठनमार्फत यस क्षेत्रका तामाङहरुलाई एक जुट गर्ने औपचारिक निर्णय तामाङ सोसाईटी अफ अमेरिकाको २०१३–२०१५ को कार्य समितिले गरेको थियो । सोसाईटीका तत्कालिन अध्यक्ष सांगे रुम्बाको अध्यक्षतामा यो निर्णय भएको थियो । उक्त निर्णयलाई आत्मसाथ गर्दै जनवरी २७, २०१७ मा सोसाईटीका अध्यक्ष शान्त थोकरको नेतृत्वमा उत्तर अमेरिकी तामाङ सम्मेलन तयारी प्रारम्भ भयो । रुम्बा नेतृत्वको कार्यसमितिले परिकल्पना गरेको अवधारणालाई थोकर नेतृत्वको कार्यसमितिले पूर्णता दिएको हो । 
जनवरी २७, २०१७ मा बसेको उत्तर अमेरिकी तामाङ सम्मेलन तयारी बैठकले सम्मेलनको अवधारणा पत्र प्रस्तुत गरेको थियो ।
 
बैठकमा लुईसाङ वाईवा तामाङ, बुद्धिमान तामाङ, लक्यान लामा, राम तामाङ र छेवांग तामाङले अवधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणा पत्रको आधारमा प्रथम उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजना गरी सम्पन्न गरिएको हो । उक्त तयारी बैठकले सम्मेलनको कन्भेनरको जिम्मेवारी शान्त थोकरलाई दिएको थियो भने सदस्य सचिवको जिम्मेवारी लक्यान लामालाई दिएको थियो । 
 
सम्मेलनका लागि २५ सदस्यीय आयोजक समिति गठन गरिएको थियो जसमा शान्त थोकर, लक्यान लामा, अक्कल तामाङ, अमर तामाङ, अनान्दु लामा, वर्षा मोक्तान, बिनिता तामाङ, बुद्धिमान तामाङ, छेवांग तामाङ, छोईसाङ तामाङ, चुनटूई लामा, कुमार दोंग, सेक्सन लामा, मानछिरिंग तामाङ, प्रकाश लामा, नेत्र घिसिंग, पवन योन्जन, पेमा योन्जन, फुर्बा घिसिंग, राम पाख्रिन, शिला तामाङ, उत्तर दोंग, टेक वाईवा लामा, सन्दिप लामा र लुईसाङ वाईवा तामाङ रहेका थिए । 
 

प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन

न्यूयोर्कको क्वीन्समा दुई दिनसम्म चलेको प्रथम उत्तर अमेरिकी तामाङ सम्मेलनले लक्यान लामाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
अमेरिकाका १३ वटा राज्यबाट उपस्थित भएका १ सय १४ जना प्रतिनिधि र १३ जना पर्यवेक्षक सहभागि भएको सम्मेलन दुई चरणमा गरिएको थियो । पहिलो चरणको खुल्लासत्र नेपाली र अमेरिकी राष्ट्रिय गीत र तामाङ गीत सँगै सुरु गरिएको थियो । कार्यक्रममा महावाणिज्य दुत मधु कुमार मराशिनीलाई प्रमुख अतिथि बनाईएको थियो भने विशेष अतिथिको रुपमा पूर्व राजदुत डा. गणेश योन्जन, फिप्नाका अध्यक्ष लुईसाङ वाईवा तामाङ र भाषाविद अमृत योन्जनको उपस्थिति रहेको थियो । अतिथिहरुले सम्मेलनको सफलताको शुभकामना दिनुका साथै तामाङहरुको एकताले प्रवासमा विशेष सन्देश प्रवाह गरेको बताएका थिए ।
दोश्रो चरणमा सम्पन्न भएको बन्दसत्रले सर्वसम्मतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । सम्मेलनले अध्यक्षमा लक्यान लामा, वरिष्ठ उपाध्यक्षमा शेर थोकर तामाङ, उपाध्यक्षमा मन मोहन वाईबा तामाङ, टेक वाईबा तामाङ र सृजना घ्लान तामाङलाई चयन गरेको छ । त्यस्तै महासचिवमा डोल्मा घिसिङ तामाङ, सचिबमा प्रेम स्याङतन तामाङ, कोषाध्यक्षमा नाम्गेल लामा, सहकोषाध्यक्षमा उमा तामाङ र मिडिया कोअर्डिनेटरमा निमा पाख्रिन तामाङलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मथु लामा, सुर्य मोक्तान तामाङ, डिम्पल योन्जन तामाङ र गोविन्द लामा चयन भएका छन् । 
 
सम्मेलनमा पूर्व राजदुत डा. गणेश योञ्जनले तामाङको सामाजिक, राजनीतिक अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने भाषाविद अमृत योञ्जनले तामाङ भाषा र लिपीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै सम्मेलनमा मिङमार तामाङले आर्थिक विकासको अवधारणा पत्र प्रस्तुत गरेका थिए । 
 
११ बूँदे न्यूयोर्क घोषणा पत्र–२०१८ जारी गर्दै सम्मेलन सम्पन्न भएपछि बेलुकी डम्फु साँझ गरिएको थियो । प्रत्यक दुई वर्षमा आयोजना गरिने डम्फु साँझमा तामाङ कला र संस्कृतिको प्रवद्र्धन गरिने खालका प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । साँझका लागि ब्रजेश मोक्तानको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम संयोजन समिति गठन गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा पत्रकार द्वय मानछिरिङ तामाङ र मच्छे गुरुङलाई सम्मान गरिएको थियो ।