राजनीति

सिलवालले भने– नौटंकी प्रदर्शनको डटेर सामना गर्न तयार छु

काठमाडौं, ५ माघ । कार्य सम्पादन मुल्यांकन किर्ते अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीको खोजी सूचीमा रहेका पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले डटेर सामना गर्ने प्रतिक्रिया दिएका छन् । शुक्रबार बिहानै उनले सामाजिक सञ्जालमा ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रहरीले उनलाई खोज्न सातवटै प्रदेशमा पत्राचार गरेको र उनलाई विदेश भगाउन प्रहरीले नै खोजी गरेको समाचार सार्वजनिक भएका बेला उनको यस्तो प्रतिक्रिया आएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा प्रहरी प्रधान कार्यालय नक्सालले सातैवटा प्रदेश प्रहरीलाई सिलवालको खोजी गर्न भन्दै पत्राचार गरेको थियो ।

सिलवालले ट्वीट गर्दै भनेका छन्– म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ । सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।” 

म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ l

सिलवालले प्रहरी नेतृत्वलाई चुनौती दिँदै यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । प्रहरी स्रोतका अनुसार मुद्दा चलाउने काठमाडौं प्रहरीकै अधिकारीको मिलोमतोमा सिलवाल स्थलमार्ग हुँदै मुलुक बाहिर पुगेका हुन् । मलेसियामा रहेको भनिएका सिलवाल परिवारका साथ अमेरिका पुगेको बताइएको छ । तर उनी भारत हुँदै त्यसतर्फ गएको प्रहरी अनुमान छ । नयाँ सरकार बनेपछि मात्रै सिलवाल नेपाल आउने र त्यसपछि आफूलाई अनुसन्धानमा सहज हुने भन्दै बाहिर बसेको हुन सक्ने प्रहरी स्रोतको दाबी छ ।
सर्वोच्च अदालतले सिलवालले सर्वोच्चमा बुझाएको कार्यसम्पादन मुल्यांकन किर्ते भएको ठहर गर्दै कसले गरेको हो भन्ने बारेमा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न भनेको थियो । सोहीअनुसार प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।