समाचार

भुईँकटरभित्र ७४५ किलो कोकिन !

एजेन्सी, ५ माघ । पोर्चुगल र स्पेनी पुलिसको संयुक्त अनुसन्धान टोलीले बुधबार दक्षिण अमेरिकाबाट ल्याउँदै गरिएको ७४५ किलो कोकिन पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अत्याधिक मात्रामा रहेको सो लागुऔषधलाई भुईँकटरभित्र लुकाएर जहाजमार्फत यूरोप लैजाने तयारी गरिएको थियो । 
गत अप्रिलदेखि नै स्पेन र पोर्चुगलका पुलिसले तस्करी सम्बन्धी नै खोज अनुसन्धान गरिरहेका थिए । यसै क्रममा बुधबार अपराधमा संलग्न नौजनाको  समूहलाई पुलिसले पक्राउ गरेको बताएको छ । पक्राउ परेको सो समूहले कोलम्बियाका दुई दाजुभाइको नेतृत्वमा जहाजमार्फत तस्करी गर्ने गरेको बताइएको छ ।  

७४५ किलो कोकिन बाहेक पुलिसले मिसावटका लागि तयार पारिएको ल्याबोरेटरी र अन्य सामग्रीलाई समेत विनाश गरिसकेको बताएको छ । तस्करीका लागि लगिएको सो कोकिन जहाजको कन्टेनरमा सिलिन्डरभित्र प्याक गरि भुईँकटरजस्तो देखिने पहेँलो बाकसभित्र भित्र छोपेर राखिएको पुलिसले बताएको हो । बाकसका कारण पहेँलो देखिने भएकाले बाहिरबाट हेर्दा फलजस्तै भएपनि भित्रबाट त्यसलाई कोकिनले भरिएको थियो । यसका साथै पुलिसले ४ लाख यूरो डलर क्यास समेत फेला पारेको बताएको छ । आइबेरियन प्रायद्विपलाई पहिले देखि नै यूरोपमा लागू औषध भित्र्याउने मुख्य प्रवेशद्वार मानिन्छ ।