राजनीति

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

काठमाडौं, ३ माघ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख तोकेको छ भने अस्थायी राजधानी पनि तोकेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकिएको हो ।

लामो समयको कसरतपछि सरकारले बुधबार सात वटै प्रदेश प्रमुखको नियुक्ति गरेको हाे । सरकारले केही समय वाम गठबन्धनसँग सहमति गरेर मात्रै प्रदेश प्रमुखको टुंगो लगाउन चाहेको थियो। तर, वाम गठबन्धन तयार नभएपछि सरकारले अन्य दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग सहमति गरेर प्रदेश प्रमुखको टुंगो लगाएको हो।
सहमति अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा फोरमले पाएको छ भने बाँकी प्रदेशमा कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएको छ। उनीहरु नेपाल सरकारको कर्मचारीका रुपमा रहनेछन्।

सरकारले बुधबार नियुक्त गरेका प्रदेश प्रमुखहरु-

प्रदेश १ गोविन्द सुब्बा 

सुब्बा पुराना कांग्रेस कार्यकर्ता हुन्। उनी ०४९ मा धरानबाट मेयर पदमा कांग्रेसका तर्फबाट प्रत्यासी थिए। उनी पूर्वाञ्चल विश्वविद्यालका सहायक डीन समेत भइसकेका छन्। पछिल्ला समय उनी पाटन क्याम्पसमा अंग्रेजीका प्राध्यापक हुन्।

प्रदेश २– रत्नेश्वर कायस्थ

कायस्थ नेपाल सरकारका पूर्वसचिव हुन्। उनी पहिलो संविधानसभाका समानुपातिक सभासद हुन्। संघीय समाजवादी फोरमको सिफारिसमा उनी प्रदेश प्रमुख बनेका हुन्।

प्रदेश ३– अनुराधा कोइराला

भारतीय कोठीहरूमा बेचिन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा क्रियाशील संस्था माइती नेपालको संस्थापक अध्यक्ष हुन्, कोइराला। ओखलढुंगामा जन्मिएकी उनले सो संस्था सन् १९९३ मा स्थापना गरेकी थिइन्। 

सन् २०१० मा सिएनएन हिरोबाट सम्मानित भएकी उनले २०१४ मा मदर टेरेसा पुरस्कार पनि जितेकी थिइन्। उनी प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेकी थिइन्।

प्रदेश ४– बाबुराम कुँवर

कुँवर पूर्व महान्यायाधिवक्ता हुन्। कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष समेत रहेका कुँवरलाई ०७० फागुन ५ मा तत्कालीन सुशील कोइराला सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको थियो।

प्रदेश ५-उमाकान्त झा

झा खिलराज रेग्मी सरकारमा ऊर्जा, सिंचाइ र विज्ञान मन्त्री थिए। उनले सिंचाइ र उद्योग मन्त्रालयका सचिवबाट अवकाश पाएका थिए। धनुषाका झा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन्। उनलाई राजपाको तर्फबाट प्रदेश प्रमुखमा सिफारिस गरिएको हो।

प्रदेश ६– दुर्गाकेशर खनाल

खनाल सुर्खेत कांग्रेसका संस्थापक नेता हुन्। पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का लगायतका कांग्रेसीहरु उनका चेला हुन्। उनी स्थानीय जनपब्लिक हाइस्कुलमा अध्यापन पनि गर्थे। खनाललाई ०४८ सालमा कांग्रेसले राष्ट्रियसभामा मनोनीत गरेको थियो।

प्रदेश ७- मोहनराज मल्ल

मल्ल राप्रपाका पुराना नेता हुन्। बहुदलपछि पहिलो संविधानसभाको चुनावसम्म उनी राप्रपाबाटै चुनाव लडे पनि पछि उनी कांग्रेसमा प्रवेश गरेका थिए। उनी कैलालीका हुन्।