मनोरंजन

पवित्रा मोडलिङ र अभिनयमा जम्दै

काठमाडौं, ३० पुस ।  पूर्वी नेपालको मोरङकी पवित्रा कार्की मोडलिङ र अभिनयमा निकै रुची राख्छिन् । मिस कोशीमा सहभागिता जनाएपछि उनी ग्ल्यामर फिल्डमा उदाएकी हुन् । रंगमञ्चमै केही गर्ने उद्देश्यका साथ उनी हाल भक्तपुरमा रहेर विभिन्न म्यूजिक भिडियो तथा चलचित्रमा सक्रियरुपमा छाउँदै आएकी छिन् । 
विमल पौडेलको पोखराको कालीबाट अभिनय यात्रा थालेकी पवित्राले पूर्वाञ्चलमा भइरहने विभिन्न सांगीतिक कार्यक्रममा सहभागिता जनाउनुको साथै आधा दर्जन म्यूजिक भिडियोमा समेत आफ्नो कुशल अभिनय गरिसकेकी छिन् । चलचित्र क्षेत्रमा लाग्नको लागि आफूसँग पर्याप्त क्षेमता भएकै कारण आफूले अभिनय र मोडलिङलाई नै करियरको रुपमा अघि बढाएको बताइन् । हालै छायांकन भएको शोभित बस्नेत निर्देशित चलचित्र बाबु कान्छामा पनि उनले अभिनय गरेकी छिन् । नृत्यमा पारंगत पवित्रा विभिन्न स्टेज शोहरुमा समेत आफ्नो पस्तुति दिनुका साथै कम्मर मर्काउँदै आएकी छिन् । देशमा मात्र नभई विदेशमा हुने विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सरिक हुँदै आएकी पवित्राले हालै दोहामा नयाँ वर्षको अवसरमा भएको कार्यक्रममा समेत आफ्नो सक्रिय सहभागिता जनाइन् । उनले पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा सहभागिता जनाएको कार्यक्रममा हजारौं दर्शकहरुको सहभागिता रहेको थियो । उनको आकर्षक नृत्य हेर्न कतारमा रहेका हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो । पहिलो पटक विदेशी भूमिमा आफूले राखेको प्रस्तुतिबाट दर्शकहरु मन्त्रमुग्ध बनेकोमा हर्षित बनिन् । भविष्यमा पनि नेपाली चलचित्रमा अभिनय, गीत संगीतको म्यूजिक भिडियोमा मोडलिङ गरेरै यही क्षेत्रमै आफू स्थापित हुने बताएकी छिन् ।