राजनीति

ओली–दाहाल भेटः सरकार गठन र पार्टी एकता प्याकेजमै

काठमाडौं, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै टुंग्याउने सहमति भएको छ । । सरकार गठन, पार्टी एकतालगायतका विषयमा गहन छलफल हुन नसकेको भन्दै आलोचना भईरहेका बेला बाम गठबन्धनका शीर्ष नेताद्वय ओली र दाहालबीच बुधबार भेटवार्ता भएको हो ।  भेटमा ओली र दाहाल दुवै नेताले सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशष्त गर्नुपर्नेमा जोड दिनु भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठकमा दुवै नेताहरुबीच थप छलफल गरी पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति पनि भएको छ । 
ओली र दाहालबीच पुनः छलफल गरी पार्टी एकतासम्बन्धि ठोस एजेन्डा तय गर्ने योजना पनि बनाइएको छ । ओली र दाहालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा देखिएको समस्या समाधान गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले गृह जिल्ला चितवनमा ब्यस्त बनेपछि ३ दिन यता सरकार निर्माण, पार्टी एकता लगायतका विषयमा ओलीसँग छलफल हुन सकेको थिएन । एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढाउने सहमति भएपनि त्यसलाई कार्यान्वयनमा लैजान अलमल भइरहेको भन्दै दुवै पार्टी भित्र आलोचना भइरहेको छ । 
छलफलमा एकता र सरकार गठन एउटै प्याकेजमा टुंगाउने विभिन्न ‘मोडालिटी’का छलफललाई निरन्तरता दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई मार्गप्रशस्तका लागि दबाब दिनुपर्ने दुबै नेताले निष्कर्ष निकालेका हुन् । देउवाकै कारण नयाँ सरकार गठनलगायत प्रक्रिाय अड्किएको भन्दै मार्ग प्रश्स्तका लागि विलम्व नगर्न पुनः ध्यानाकर्षण गराउने उनीहरुको तयारी छ । 
ओली र प्रचण्डबीच मूलतः पाँच विषयमा छलफल भएको हो । दुई नेताबीच पार्टी एकताबारे बाहिर गरिएको आशंका, नयाँ सरकार गठन, निर्वाचन आयोगको जिम्मेवारी, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश र पार्टी एकता संयोजन समितिको बैठकका विषयमा छलफल भएको हो ।