न्युयोर्क

‘चुम्लुङ्ग नाइट’ इभेन्टमा दिपक र इन्दिरा सम्मानित

न्यूयोर्क, मंसिर । किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले  आयोजना गरेको ‘चुम्लुङ्ग नाइट’ इभेन्टमा प्रथम नेपाली तारा दिपक लिम्बु र गीतकार तथा समाजसेवी इन्दिरा चेम्जोङ्ग सम्मानित भएका छन् । न्यूयोर्कको कुवीन्स बोरोस्थित गुलसन टेरास पार्टी हलमा ‘चुम्लुङ्ग नाइट’ सम्पन्न भएको हो । 
चुम्लुङ्ग अमेरिकाले आयोजना गरेको उक्त कन्सर्टमा अमेरिकामा रहेका नेपालीहरु खचाखच भरिएका थिए । कन्सर्टमा भर्सटाइल गायक दिपक लिम्बुले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरंजन प्रदान गरे ।  उक्त इभेन्टमा कलाकारहरु सांगीतिक कार्यक्रमसँगै आधुनिक आइटम नृत्यहरु पनि पस्किएको थियो ।  
कार्यक्रममा किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाका अध्यक्ष दिपेश चबेगु लिम्बुले नेपाली लोक संस्कृतिसँगै आफ्नो मौलिक परम्परालाई जगेर्ना यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । शिक्षाका लागि संगीत नाम दिइएको ‘चुम्लुङ्ग नाइट’बाट उठेको केही रकम इलाम जिल्लाको चुलाचुली स्कूलमा सहयोग गरिने आयोजकले जनाएको छ ।  

धनकुटाको चौबिसे राजारानीमा जन्मिएकी गीतकार तथा निर्मात्री इन्दिरा चेम्जोङ्ग २००५ सालदेखि न्यूयोर्कमा बस्दै आएकी छन् । उनले हालै ‘अर्को जन्म’ नामक गीति एल्बम न्युयोर्कमा बिमोचन गरेकी थिइन् । यस एल्बममा समावेश गीतहरुमा भर्सटाइल गायक दिपक लिम्बु लगायत अन्य चर्चित गायकहरुले आवाज दिएका छन् । उक्त एल्बममा भएको एउटा लिम्बु भाषाको गीत अमेरिकामा छायांकन गरिएको गीतकार इन्दिराले बताइन् । इन्दिरा किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाका (२०११–२०१५) निवर्तमान उपाध्यक्ष पनि हुन्  । उनी महिला सशक्तिकरण अभियानमा न्यूयोर्कको ‘अधिकार’ संस्थामा समेत आवद्ध छिन ।