राजनीति

मतदाताको साथ देखेर रमाउँदै रामवीर

काठमाडौं, ५ मंसिर ।  मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए । राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी पसलेहरु कालीमाटीबाट भर्खर ल्याएको ताजा तरकारीका बोराहरु खोल्दै थिए । विहानीमा मात्र खुल्ने फुटपाथ पसलका पोकाहरु पनि भर्खर खुल्दै थिए । त्यसैबेला सूर्य र हसियाँ हतौडा अंकित झण्डा बोकेर सयौँको सङ्ख्यामा जोसिला नारा लगाउँदै बृद्ध–बृद्धा, युवाले करिब दुई घण्टा ती सडक र गल्लीहरु छिचोल्दै रहे । त्यही भीडमा हुनुहुन्थ्यो काठमाडौँ क्षेत्र नम्बर–७ का प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धनर, प्रदेशसभा तर्फ ‘क’ का उम्मेदवार वसन्त मानन्धर, समानुपातिक तर्फका उम्मेदवार अमररत्न बर्जाचार्य र मिना ज्ञवाली नेपाल पनि  । 


०७० सालको संविधानसभा निर्वाचनमा संविधान जारी गर्ने वाचासहित यही क्षेत्रका जनताको मतबाट विजयी भएका रामवीर मानन्धर त्यो भीडमा सबैको केन्द्रविन्दु हुनुहुन्थ्यो । उहाँ जताजता जनुहुन्थ्यो त्यो भीड पनि त्यतैत्यतै हुत्तिन्थ्यो । क्षेत्रपाटीबाट सुरु भएको जुलुस ठमेलहुँदै ज्याँठा, अशन, इन्द्रचोक, बाङ्गेमुढा, नरदेवी, भुरुङखेल, धोवीचौरहुँदै फेरि क्षेत्रपार्टी चोकमै पुग्दा मानन्धरससहितको टोलीलाई बीचबाटोमा सयौंले स्वागत गरे । गगनचुम्वी घरका भ्यालहरुबाट हात हल्लाइरहेका बृद्धबृद्धालाई मानन्धर मुसुक्क हाँस्दै हात हल्लाउँदै अघि अघि बढ्नुहुन्थ्यो । बाटामा भेटिनेहरु पनि केही सेकेण्ड उहाँसँग भलाकुसारी गर्न भ्याउँथे । धरेले त उहाँलाई नेवारी भाषा र लवजमै जितको शुभकामना दिन भ्याए । कतिपय ठाउँमा त रामवीर र वसन्तलाई बृद्धबृद्धाले टिका लगाएर जितको शुभकामना समेत दिन भ्याए । 

क्षेत्र पाटी चोकमै रहेको तरकारी पसलमा भोट माग्दै पुग्नुभएका मानन्धरलाई ‘तरकारीवाली’हरुले पनि जीतको शुभकामना दिन भ्याए । ‘चुनाव जितेपछि धेरै फर्किएर पनि आउँदौनन्,’ विगत २० वर्षदेखि त्यही चोकमा तरकारी बेच्दै आउनुभएकी ५५ वर्षीया महिलाले भन्नुभयो,’ ‘उहाँ मलाई जनताको छोरा जस्तै लाग्छ । उहाँलाई जितको शुभकामना ।’
तरकारीवाली महिला मात्र होइन क्षेत्र नम्बर–७ कै मतदाता स्टालिन श्रेष्ठले पनि रामवीरलाई जितको शुभकामना दिन भ्याउनुभयो । सर्लाहीबाट आएर यही क्षेत्रमा लामो समयदेखि फलफुल बेच्दै आउनु भएका श्यामबाबु चौधरीले पनि रामवीर मानन्धरलाई जितको शुभकामना दिनुभयो ।  यसै क्षेत्रका रैथाने मानन्धरको आजै इचंकुनारायणमा पनि घरदैलो कार्यक्रममा जानु पर्ने भएकाले हतारमा हुनुहुन्थ्यो । घरैपिच्छे गर्ने स्वागतले  उहाँ थकित जस्तो देखिनुहुन्थ्यो । तर, ती थकानलाई मेटाउँदै उहाँले क्षेत्रपाटी चोकमै पनि दर्जनौसँग सेल्फी खिच्नु भ्याउनुभयो ।