समाचार

मेट्रो रेल निर्माणका लागि डीपीआर तयार हुँदै

काठमाडौं, ५ मंसिर । निर्माण सुरु गरेको चार वर्षमा काम सक्नेगरी लगानी बोर्डले काठमाडौंमा मेट्रो रेलमार्ग निर्माण गर्ने भएको छ । लगानी बोर्ड अहिले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने कागजी प्रक्रियामा छ । 
“डीपीआरको लागि हामी अन्तिम चरणमा छौं । कागजी प्रक्रिया अबको केही दिनमै पूरा हुन्छ,” लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले भने । बोर्डले २ वटा रुट निर्माण गर्नेगरी काम गर्न लागेको छ । रुट नम्बर एक अन्तर्गत बूढानिलकण्ठ–सातदोबाटो र दुई नम्बर रुट अन्तर्गत नागढुङ्गा–कलंकी–कोटेश्वर–धुलिखेल तय गरेको छ । रुट नम्बर २ को डीपीआर लगानी बोर्ड आफैले तयार गर्दैछ भने रुट नम्बर १ को डीपीआर तयार पार्ने जिम्मा रेल विभागलाई दिने बोर्डले जनाएको छ । 
यता, रेल विभागले भने यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएको छ । “हामीलाई यसबारे केही थाहा छैन । कसैले जानकारी पनि दिएको छैन,” रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले भने, “समाचारमा हामीले सुनेको हो । तर अहिलेसम्म हामीलाई कहिँबाट पनि पत्र आएको छैन । अनभिज्ञ छौँ ।” 
यसैबीच, लगानी बोर्डले भने कागजी प्रक्रिया पूरा नभइसकेकाले पत्राचार नगरिएको जनाएको छ ।  रेल विभागसँग डीपीआरका लागि जनशक्ति रहेपनि लगानी बोर्डसँग भने छैन । बोर्डले डीपीआरका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ । “कागनी प्रक्रिया मिलिसकेपछि हामी टेन्डर आह्वान गर्छौं,” बोर्डका प्रवक्ता तथा सहसचिव उत्तमभक्त वाग्लेले भने । 
काम सुरु गरेको चार वर्षभित्र रेलमार्ग निर्माण गरिसक्ने योजना बनाएको उनले बताए । रुट नम्बर एक २५ किलोमिटर लामो छ भने रुट नम्बर दुई ४५ किलोमिटर छ ।
बोर्डका अनुसार मेट्रो रेल निर्माणका लागि प्रतिकिलोमिटर लागत खर्च ३ अर्ब लाग्छ । तराईको समथर भू–भागमा भने रेलमार्ग निर्माणका लागि औसतमा प्रतिकिलोमिटर ४० करोड रुपैयाँ लाग्ने गरेको विज्ञहरु बताउँछन् । 
यो अनुमानित लागतअनुसार रुट नम्बर १ को मेट्रो रेल्वे तयार गर्न ७५ अर्बभन्दा धेरै लाग्छ भने रुट नम्बर २ निर्माणका लागि १ खर्ब २९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बोर्डले जनाएको छ । 
काठमाडौंका लागि मेट्रोरेल मार्ग निर्माणका लागि कोरिया र जापानले चासो यस अगाडि नै देखाइसकेको बोर्डका प्रवक्ता वाग्लेले बताए । “पहिला हामी डीपीआर तयार पार्छौं, त्यसपछि लगानीका लागि आग्रह गर्छौं,” वाग्लेले भने, “कोरियन कम्पनीले यसअगाडि गरेको अध्ययन प्रतिवेदन हेरेर पनि हामीले यसलाई अगाडि बढाएका हौं ।” 
यसअघि सन् २०१२ मा कोरियन कम्पनीले रेल विभागको सहयोगमा सम्भाव्यता अध्ययन गरेको थियो । तर त्यसबेला चक्रपथभित्र मात्रै रेल चलाउने उद्देश्यअनुसार अध्ययन भएको थियो । 
कोरियन कम्पनीले काठमाडौंमा मेट्रो रेलको सम्भावना रेको प्रतिवेदन बुझाए पनि काम अगाडि बढेको थिएन । त्यसबेला कोरियाले मेट्रो रेलको पाँचबाट रुट तयार गरेको थियो । अध्ययनमा काठमाडौं मेट्रोका लागि रबरको टायर भएको रेल उपयुक्त हुने सुझाव थियो ।  डीपीआरपछि ठेक्का प्रक्रिया अघि बढाउने भन्ने तयारी गरेपनि कोरियन कम्पनीले टीओआर नै नबुझाएपछि मेट्रो रेलको योजनालाई अगाडि बढ्न सकेको थिएन ।