समाचार

प्रकाश र प्रचण्डबीच अन्तिम समयमा के कुरा भएको थियो ?

काठमाडौं, ५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीवर्ष अघि छोरीको निधन र अहिले छोराको निधनको पीडा आफूले सम्हाल्ने भए पनि परिवारलाई सम्हाल्न गाह्रो भएको बताएका छन् ।
दाहालको आफ्नै निवास लाजिम्पाटमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
यस्तो थियो प्रचण्डले दिएको वक्तव्यको मुख्य धारणा –
निर्वाचनको लागी परिवार कोही कता, कोही कता थियौं । छोरीहरु कोही बिराटनगर कोही चितवन थिए ।
उसको (प्रकाश) को ममी र उ मात्रै यहाँ थिए । बेलुका मैले झापाबाट फोन गरेँ । ज्वरो आएको थियो कस्तो छ भनेर फोन गरेँ । फ्रेस छ भनेर मेडमले भनेपछि र उसले पनि मलाई ठिक छ भनेर भनेको थियो ।
परिवार र पार्टीका लागि क्षति त भयो । प्रकाश म्याचुअर्ड कार्यकर्ता र नेता हुनेगरी अघि बढेको थियो । म प्रधानमन्त्री हुँदा उसका सुझाव नै सफल भएका थिए । मेरो सफलतामा उसको हात प्रमुख थियो । देश र पार्टीको अवस्था बुझेर अघि बढ्दैछ भनेर मलाई गर्व महसुस हुँदै थियो । हिजो पनि स्वतःस्फूर्त रुपमा अन्तिम श्रद्धान्जलीका लागि देशबाट कार्यकर्ताको सहभागीता हुन गयो । पार्टी र परिवारका तर्फबाट धन्यवाद भन्न चाहन्छौं ।
परिवारलाई पनि नयाँ शक्ति र नयाँ जिम्मेवारी बोध गराएको छ । म त हिजोदेखि युद्धका चित्कार र पीडा भोगेर आएको हुनाले आफूलाई सम्हाल्न गाह्राे देखेको छैन । मैले आफूलाई सम्हाल्न सक्छु भन्ने लागेको छ । परिवार र आमालाई सम्हाल्न गाह्राे भएको छ ।