राजनीति

प्रतिस्पर्धीमाथि खनिए डा. बाबुराम

गोरखा, ५ मंसिर ।  नयाँ शक्ति पार्टीका संयोजक एवं गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई आफ्ना प्रतिस्पर्धीमाथि खनिएका छन् । गोरखाको  भच्चेकको चुनावी सभामा पूर्वसहकर्मी समेत रहेका नारायणकाजी श्रेष्ठमाथि लक्षित गर्दै उनले अाक्रोश पाेखेका हुन् । 
उनले श्रेष्ठमाथि  कम्युनिष्ट छाड्न हुँदैन भनेर प्रचण्ड र केपी ओलीलाई उक्साएको आरोप समेत  लगाए । उनले वाम गठबन्धन बनाउने क्रममा प्रचण्ड र ओली कम्युनिष्ट पार्टी छाड्न सहमत भएको भट्टराईले दाबी गरे ।
 ‘जब हामीले गठबन्धन बनायौं, यसको सबैभन्दा ठूलो बाधक उहाँ हुनुहुन्थ्यो, जो अहिले मेरो प्रतिद्वन्द्वी बनेर आउनु भएको छ’ उनले भने । ‘कम्युनिष्ट आन्दोलनलाई समाजवादी रुपान्तरण गरौं भन्दा विरोध गर्ने पनि उहाँ नै हो’ केपी ओलीले आफूलाई सुनाएको भन्दै भट्टराईले भने,’ कम्युनिष्ट छोड्नु हुँदैन । बाबुरामलाई किन ल्याएको ? उसले त कम्युनिष्ट आन्दोलन छाडिसक्यो भनेर उक्साउने उहाँ नै हुनु हुँदोरहेछ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखा २ मा वाम गठबन्धनका उम्मेदवार बनेका श्रेष्ठ ‘टुरिष्ट’ भएको बताए । त्यस्तै   नेपाली कांग्रेसका युवा  नेता गगन थापाले गोरखा २ मा डा. बाबुराम भट्टराईलाई जिताउन मतदातालाई आग्राह गरेका छन् ।
यो चुनाव संविधान जोगाउने कि भत्काउने जनमत संग्रह भएको भन्दै उनले भने, ‘संविधान जोगाउन र कार्यान्वयन गर्न कांग्रेसले जित्न आवश्यक छ । गोरखा २ मा बाबुरामले जित्नु भनेको संसदमा कांग्रेस बलियो हुनु हो ।’ उनले भट्टराईलाई मत दिने क्रममा विगतको दुःख पीडा विर्सिन गोरखाका कांग्रेस कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले संसदमा गठबन्धन आउनु भनेको पार्टी जित्नु बराबर हो भनेको छ । त्यसैले निजी चोट विसर्न आग्रह गर्छु’ उनले भने ।