विश्व

भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

इरान, ३० कार्तिक । इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षतिको आँकलन गरिएको हो । 
उक्त प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । सो भूकम्पबाट हजारौँ भवन र सरकारी संरचना ध्वस्त हुनुको साथै क्षतिग्रस्त भएको बताइएको छ । भूकम्पमा परी ४ सय ५० बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौँ घाइते भएका छन् । 
कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ । भूकम्पका कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको हो । 
इरानमा सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए ।