खेलकुद

सुन्धारामा सुविधासम्पन्न फिटनेस पार्क खुल्यो

काठमाडौं, २९ कार्तिक । सुन्धारा काठमाडौंस्थित सि.टि.सी मलको आठौं तल्लामा अन्तर्राष्ट्रियस्तरको नेपालकै पहिलो सुविधा सम्पन्न, अत्याधुनिक र वातानुकुलित (एयर कण्डिशनयुक्त), शारिरीक व्यायामशाला ‘फिटनेश पार्क’ सञ्चालनमा आएको छ । 
युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले बुधबार सो फिटनेस पार्क र स्पाको उद्घाटन गर्दै जनताको स्वास्थ्यको लागि एकै छानामुनि यति धेरै अत्याधुनिक र सुविधासम्पन्न उपकरण राखेर नीजि क्षेत्रबाट खोलिएको यो नै नेपालको पहिलो फिटनेस पार्क भएको बताए ।  अहिले देशमा आउटडोरभन्दा इण्डोर खेलको भविष्य राम्रो रहेको उल्लेख गर्दै मन्त्री केसीले यसका लागि सो फिटनेस पार्कले शारिरीक सुगठनसम्वन्धि खेलाडी उत्पादन गर्न विशेष योगदान गर्ने बताए । 
स्वास्थ्यको लागि खेलकुको लागि खेलकूद भन्ने सरकारको नारा रहेको बताउँदै मन्त्री केसीले देशलाई चिनाउन खेलकूदको भूमिका महत्वपूर्ण रहेको पनि प्रष्ट पारे । विभिन्न रोग र शारिरीक समस्याका कारण ह्विलचियर प्रयोग गरिराखेका व्यक्तिका लागि समेत सहज पहुँचका लागि लिफ्ट सहितको ‘फिटनेस पार्क’ र स्पा नेपालकै पहिलो अपाङ्गमैत्री व्यायामशाला हो । 
६ हजार वर्गफिटमा फैलिएको र ४ सय जना अट्ने क्षमताको सो फिटनेस पार्क बिहान साढें ५ देखि राती ९ बजेसम्म खुल्ने छ भने आठौं तल्लामा रहको सो फिटनेस पार्कबाट शारिरीक व्यायाम गर्दै शहरको दृष्यावलोकन समेत गर्न सकिन्छ । राजधानीका उच्च र सम्भ्रान्त परिवार, उच्च तहका  वहालवाला र निर्वतमान साथै उपल्लो तहका कर्मचारीलाई समेत लक्षित गरि सो फिटनेस पार्क र स्पा स्थापना गरिएको हो । 

सेवामुलक व्यवसायको रुपमा ५ करोड रुपैयाँको लागतमा खोलिएको सो फिटनेस पार्क र स्पामा उच्चस्तरीय (क वर्गको) विभिन्न फिटनेस उपकरण राखिएका छन । यसैगरि गोल्ड जिमबाट फिटनेस सम्वन्धी अध्ययन र तालीम गरेका अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका गरि विभिन्न विधामा  १५ जना प्रशिक्षकको व्यवस्था गरिएको छ । विगत १५ वर्षदेखि मुलुकभरका फिटनेस सेन्टरहरुमा फिटनेस सम्वन्धि उपकरण र सामाग्री आपुर्ति गर्दै आएको मल्टिनेशनल बिजनेस कन्सर्न (एमएनबिसि) फिटनेश च्वाइसका सञ्चालक उत्तम सिलवाल र अर्का व्यवसायी हरिशंकर पुरी मिलेर सो फिटनेस पार्क एकवर्ष लगाएर स्थापना गरेका हुन ।


फिटनेस पाक कार्डियो (मुटु) सम्वन्धी शारिरीक व्यायामका लागि बेलायतको ब्राण्डेड ‘पल्स फिटनेस’ उपकरण ल्याइएको छ भने अन्य व्यायाम र शारिरीक सुगठनका लागि चीनमा निर्मित टप डिएचजेड ब्राण्ड र (एमएनबिसि)ब्राण्डका उपकरण ल्याइएको छ । यसका साथै पार्कमा स्पा अन्र्तगत महिला र पुरुषका लागि छुट्टाछुट्टै साउना, ज्याकुजी र स्टिम वाथको पनि व्यवस्था गरिएको पार्कका प्रवन्ध निर्देशक उत्तम सिलवालले बताएका छन् । यसको अलावा जुम्बा र एरोबिक अभ्यासको लागि सुविधायुक्त वातानुकुलित अलग हलको व्यवस्था गरिएको छ भने सिंगल स्शेटशन जिम, ट्रयाम्पोलिङ्ग र ग्रुप साइक्लिङ्गको समेत व्यवस्था छ । 

साथै फिटनेस पार्कभित्र हाइजेनिक खानेकुराको लागि क्याफे र फिटनेस सम्वन्धी सम्पुर्ण सामाग्री, प्रोटिन खरीदको लागि अलग विक्री कक्ष पनि राखिएको छ । फिटनेस पार्कमा विशेषज्ञ चिकित्सकबाट र त्यहाँ राखिएको ‘बडी कम्पोजिशन एनालाइजर (बिसिए) मेशीनबाट शारिरीक अवस्थाको परीक्षण तथा स्वास्थ्य जाँच गरेपछि शारिरीक अवस्था सुहाउँदो व्यायाम गर्ने व्यवस्था मिलाइएको अर्का निर्देशक हरिशंकर पुरीले बताए । फिटनेस पार्कले शारिरीक व्यायामको क्रममा कोही घाइते भएमा तत्कालका लागि प्राथमिक उपचारको व्यवस्था गर्नुका साथै वैकिङ बीमा समेत गरेको छ । यसका साथै सिटिसि मलको अन्डरग्राउण्डमा प्रर्याप्त पार्किङ्गको व्यवस्था सहित फिटनेस पार्कका सदस्यलाई निःशुल्क पार्किङ्ग सुविधासमेत व्यवस्था गरिएको छ