राजनीति

यसरी गर्नुस् मतदान (भिडियो सहित)

काठमाडौं, २९ कार्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा बदर मत घटाउने हेतुले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा अघि बढाएको छ । पहिलो चरणको निर्वाचन हुन अब दुई हप्ता पनि समय बाँकी छैन । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा चुनावका लागि चाहिने सबै सामग्री सम्बन्धित क्षेत्रमा पुगिसको  निर्वाचन आयोगले जनाएको छ ।

३२ जिल्लामा मंसिर १० र बाँकी ४५ जिल्लामा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । दुईवटा चुनाव एकैपटक हुने भएकाले दुवै तहका लागि प्रत्यक्ष र समानुपातिक गरी दुईदुई ठाउँमा छाप लगाउनुपर्छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र फरक फरक बनाएको छ भने समानुपातिकतर्फको मतपत्र एउटै पानाको माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि छाप लगाउनुपर्छ । मतदानका लागि जाँदा निर्वाचन आयोगले दिएको परिचयपत्र वा अरु आधिकारिक प्रमाणपत्र लिएर जानुपर्छ । मतदान केन्द्रमा पुगेपछि कर्मचारीले परिचयपत्र रुजु गरेपछि नङमा कालो मसी लगाइदिन्छन् । आसन्न चुनावमा तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनु पर्छ ।

मतदान अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हल्का निलो रंगको मतपत्र दिनेछन् । त्यो मतपत्रमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसालेपछि सँगै रहेका कर्मचारीले प्रदेशसभाको प्रत्यक्षतर्फको अर्को मतपत्र दिनेछन् । त्यो मतपत्र कालो रंगको हुन्छ । त्यसलाई पनि छाप लगाएर बाकसमा खसालेपछि समानुपातिकतर्फको हल्का रातो रंगको मतपत्र अर्का कर्मचारीले दिनेछन् । त्यसको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि एक एकवटा चिन्हमा छाप लगाएर नजिकैको मतभेटिका खसाल्नुपर्छ ।

मत खसाल्ने तरिका सिकाउन निर्वाचन आयोगले गाउँ घरमै मतदाता शिक्षा कार्यकर्ता खटाएको छ । यसका साथै कतैकतै राजनीतिक दलका कार्यकर्ताले मतदान गर्ने तरिका सिकाइरहेका छन् । तर दलका कार्यकर्ताले सिकाउँदा आफ्नो दलको चिन्हमा मात्र मतदान गर्न सिकाउने गरेको पाइएको छ । त्यसैले मतदाता शिक्षा कार्यकर्तासँग मतदान गर्ने तरिका र चुनावका बारे अझ धेरै जानकारी लिन सकिन्छ । 

मतदान कसरी गर्ने हेरौं भिडियो