राजनीति

उम्मेदवारमाथि आक्रमण, सुरक्षा प्रत्याभूति खै ?

काठमाडौं, २९ कार्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि प्रचार प्रसारमा खटिएका दलका नेता तथा कार्यकर्तामाथि आक्रमण हुने घटना रोकिएका छैनन् । निर्वाचन आयोगले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा निकायलाई तदारुकता देखाउन निर्देशन दिइरहेका बेला उम्मेदवारमाथि आक्रमणका घटना बढेका छन् । 

मंगलबार बिहान मात्रै भोजपुरमा नेकपा एमालेका नेता तथा उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । तर, उनलाई केही नभए पनि उनले प्रयोग गरेको गाडी र उनका अंगरक्षक घाइते भए । राइमाथि भएको आक्रमणको घटना सेलाउन नपाउँदै म्याग्दीको बेनी नगरपालिका १ अर्जममा नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको समाचार प्रकाशमा आयो । 

म्याग्दीको रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो । उक्त घटनामा  मानिसहरुलाई केही नभए पनि गाडीमा सामान्य क्षति भयो ।  यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गरे । 
यता नेकपा एमालेले भने आफ्ना उम्मेद्वारमाथि सरकार कै संरक्षणमा नियोजीत हमला भएको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र नेत्रविक्रम चन्दलाई एउटै दर्जामा राखेर आक्रोश पोखेका छन् । अहिलेसम्म भएका आक्रमणमा विप्लव नेतृत्वको माओवादीले आक्रमण गरेको आशंका गरिएको भए पनि आक्रमणकारी को हो ? सुरक्षा निकायले कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन ।