खेलकुद

आन्द्रे पिर्लोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं, २१ कार्तिक ।  इटालीका भेट्रान प्लेमेकर आन्द्रे पिर्लोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । व्यावसायिक फुटबलमा दुई दशक बिताएका इटालियन पिर्लोले सोमबार सन्यासको घोषणा गरेका हुन् । अमेरिकाको उच्च डिभिजनको लिग मेजर लिग सकरमा सोमबार न्युयोर्क सिटीबाट मैदान उत्रिएपछि पिर्लोले सन्यासको घोषणा गरेका हुन् । खेलपछि सोसियल साइट ट्वीटरबाट आफ्नो सन्यास घोषणा गर्दै पिर्लोले लेखेका छन्, “ न्युयोर्क सिटीबाट अन्तिम खेलपछि म केहि शब्दहरू भन्न चाहन्छु। यो अद्भुद शहरमा मलाई समर्थन, माया गर्नु भएको सबैलाई धन्यवाद । मेरो अविश्वसनीय यात्रामा सहयोग गर्नुहुने  मेरो टिम सहकर्मी, टिम कोच, स्टाफ सबैलाई धन्यवाद भन्न चाहान्छु ।”
प्लेमेकरका रूपमा चर्चित मिडफिल्डर पिर्लोले इटालीको उमेर समूहबाटै फुटबल खेल्न सुरु गरेका थिए । फ्रिकिक हान्न माहिर मानिने ३८ बर्षिय पिर्लोले सन् २००२ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २००६ मा इटालीले विश्वकप जित्दा तीन खेलमा ‘म्यान अफ द म्याच’ को उपाधि जितेका पिर्लोले प्रतियोगितामा  ‘ब्रोन्ज बल’ समेत हात पारेका थिए । इटालीका लागि ११६ खेलमा खेलेका पिर्लोले १३ गोल गरेका थिए ।
अमेरिका जानुअघि पिर्लोले इटालीका तीन ठूला क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । ब्रशियाबाट क्लब फुटबल सुरु गरेका पिर्लो एसी मिलानमा एक दशक बिताएका थिए । उनले इन्टर मिलानमा समेत केहि बर्ष बिताएका  थिए । इटालियन क्लब नछाडेका पिर्लोले मिलानबाट दुईपटक च्याम्पियन्स लिग, एक इटालियन लिग र दुई पटक क्लब विश्वकप जितेका थिए ।  यस्तै उनले युभेन्ट्सबाट ४ पटक इटालियन लिगको उपाधि जितेका थिए । पिर्लो सन् २०१५ मा त्यहाको एमएलएस लिग खेल्न अमेरिका गएका थिए ।