न्युयोर्क

अमेरिकाले भन्यो– विदेशी लडाकु इराक छोड

अमेरिका,  कार्तिक । अमेरीकी विदेश मन्त्री रैक्स टिलरसनले इराकमा विद्रोही समुह इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्दै आएका ईरान समर्थक लडाकुहरुलाई फिर्ता जानु पर्ने बताएका छन् । साउदी अरब भ्रमणका क्रममा अमेरीकी विदेश मन्त्री टिलरसनले इराकमा अव लडाई समाप्त भएको जिकिर गर्दै इराकी सरकार समर्थक विदेशी लडाकुहरुले फिर्ता जाने समय भएको बताएका हुन् । 
‘‘ईरानका लडाकुहरुले इराकबाट बाहिरिनु पर्ने समय भएको छ । साथै इराकको भूमीमा रहेका अन्य विदेशी लडाकुहरुले पनि स्वदेश फिर्ता भएर इराकी नागरिकहरुलाई विद्रोही संगठनबाट फिर्ता लिइएका क्षेत्र फेरी नियन्त्रण गर्न सक्ने अवस्था सिर्जना गर्नु पर्दछ । विदेशी नागरिकहरु फिर्ता भएपछि मात्रै इराकका नागरिकहरुको जीवन फेरी सही मार्गमा आउने छ ।’’ उनले भने । 
साउदी अरब भ्रमण पछि अमेरीकी विदेश मन्त्री टिलरसन कतारको राजधानी दोहा पुगेका छन् । उनले दोहामा विद्रोही संगठन इस्लामिक स्टेटको सामना गर्न कुर्द लडाकुहरुलाई एकजुट हुन आवश्यक रहेको बताए । इराकका प्रधानमन्त्री हैदर अल–अबादीप्रति समर्थन जनाउँदै टिलरसनले भने, ‘‘इराक र इराकी सैन्य अभियानमा प्रधानमन्त्री हैदर अल–अबादीको पूर्ण नियन्त्रण छ । उनलाई देशको संवैधानिक बाध्यताका बारेमा राम्रो जानकारी छ ।’’ अमेरीकी विदेश मन्त्री टिलरसनले इराकका कुर्द लडाकुहरुलाई संविधानको पूर्ण पालाना हुने गरी सरकारी सेनामा समायोजन गरिनु पर्ने धारणसमेत व्यक्त गरे । 
अमेरीकी विदेश मन्त्रीको पछिल्लो बयानमाथि ईरानले तत्काल प्रतिक्रिया जनाएको छ । ईरानका विदेश मन्त्री जावेद जरीफले ईरान र इराकी शिया मुस्लिमले ज्यानको बाजी नलगाएको भए यति बेला बग्दादमा इस्लामिक स्टेटले राज गरिरहेको अवस्था हुने बताए । 
अमेरीकी विदेश मन्त्री टिलरसनले पश्चिम एशियाको यात्राका दौरान ईरानको असर कम गरेर साउदी अरब र कतारबीचको सम्बन्ध सुधार गर्ने प्रयास गरेका छन् । तर साउदी र कतारबीच पाँच महिना अघि चिसिएको सम्बन्धमा भने कुनै सुधार नआएको बीबीसीले जनाएको छ । 
अमेरीकी विदेश मन्त्री टिलरसनले पनि साउदी र कतारबीच चिसिएका सम्बन्ध सुधारका लागि दुई पक्षीय वार्ता गर्न कुनै पनि राष्ट्रले चाँसो नदेखाएको स्वीकार गरेका छन् ।