समाचार

नागरिकता नपाउँदाको व्यथा फोटो कथामा

काठमाडौं, ७ कार्तिक ।नागरिकता पाउनबाट वञ्चित नेपालीहरुको कथा–व्यथा समेटेर काठमाडौंमा तीन दिने फोटो फोटो प्रदर्शनी सोमबारबाट शुरु भएको छ । महिला, कानून र विकास मञ्च तथा नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालद्वारा संयुक्तरूपमा आयोजित ‘नागरिकताबाट वञ्चित नेपालीको कथासम्बन्धी फोटो प्रदर्शनी’ को राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सोमबार उद्घाटन गर्नुभयो ।

फोटो प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकताबाट बञ्चित व्यक्तिहरुका सवालमा सरकार, कर्मचारी र अदाललतले फरक–फरक तरिकाले व्याख्या गर्ने परिपाटीका उनीहरुका समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले नागरिकहरुको हक र अधिकारकालागि संविधान अनुकुलको कानून ल्याइनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालतबाट आमाको नामबाट नागरिकता दिने नजिर प्रतिपादन गरेता पनि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या भएको उल्लेख गर्नुभयो । मञ्चका अध्यक्ष तथा अधिवक्ता मीरा ढुंगानाले नेपालकै नागरिक भएर पनि नागरिकविहीन भएर बस्नुपर्ने नेपालीको पीडा सरकार तथा सरोकारवाला पक्षले बुझ्न आवश्यक भएको बताउनुभयो ।  कार्यक्रममा मञ्चद्वारा प्रकाशित ‘नागरिकताका सम्बन्धमा न्यायालयबाट भएका केही फैसलाको सारसंक्षेप तथा प्रतिपादित नजिर’ नामक पुस्तिका सार्वजनिक गरिएको थियो । 

 

मुलुकका विभिन्न क्षेत्रका व्यक्तिहरु विविध कारणले नागरिकता पाउनबाट बञ्चित भएका र उनीहरुले भोगेका कथा–व्यथालाई फोटो प्रदर्शनीमा समेटिएको छ । फोट प्रदर्शनमाी ५० जना भन्दा बढी नागरिकताबाट वञ्चित व्यत्तिहरुका पीडाका कथाहरु समेटिएका छन् ।