खेलकुद

मेस्सीको ह्याट्रिक, विश्वकपमा छानियो अर्जेन्टिना

काठमाडौं, २५ असोज । अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । 

एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । 

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।