खेलकुद

एन्फाको विधान संशोधन, थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय पारित

काठमाडाैं, २४ असाेज ।  अखिल  नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो संसोधित विधान संसोधन गर्दै थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । सोमबार बसेको एन्फाको विशेष साधारणसभाले विधान संसोधन र थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय पारित गरेको हो ।

विश्व फुटबलको निकाय फिफा र एसियायी फुटबल महासंघ एएफसीका प्रतिनिधिको उपस्थितिमा बसेको साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संसोधन समितिका संयोजक मणि कुँवरले पेस गरेको विधान संसोधन र क्षतिपूर्तिबारेको दुई मुख्य कार्यहरु पास गरेको हो ।

सानेपामा बसेको साधारणसभामा २० धारा र ३८ बुँदामा छलफल भएका थियो । जसमा यसअघि बसेको कर्यसमिति बैठकले गरेको महिला समिति हटाउने निर्णयलाई उल्टाएर महिला समिति यथावत राख्ने र निर्वाचनको भोटिङ राइट दुईबाट ३ जना पुर्याउने निर्णय गरेको छ । संसोधित विधान अनुमोदन गरेसँगै अहिले भोटिङ राइट पाउदै गरेकाले ४५ जिल्ला, १४ ए डिभिजन, ५ बि र ३ सी डिभिजन क्लब र विभिन्न चार समितिहरुले निर्वाचनको बेला ३ जना पदाधिकारीहरु पठाउन सक्ने छन् । 

बिधान संसोधन गरेपनि एन्फाले संघिय प्रणालीको एन्फाको संरचनाबारे केहि निर्णय गरेको छैन । एन्फाका सीइओ इन्द्रमान तुलाधरले सरकारले संघीय संरचना लागु गरेपछि एन्फाले त्यही अनुरुप आफ्नो संरचना परिवर्तन गर्ने बताए जानकरी दिए  । संघीय संरचनामा गए हाल रहेका जिल्लाहरुले प्रदेशबाट मात्र भोटिङ राइट पाउने छन्  ।  त्यस्तै एन्फाले आसन्न पुस ८ मा हुने नयाँ कार्यसमितीको निर्वाचन यसै बिधानमा रहेर गर्नेछन् । 

यस्तै बिशेष साधारणसभाले ललितपुरको ए डिभिजन क्लबलाई १ करोड ५० लाख दिने निर्णय सर्वसम्मतले पारित गरेको छ । एन्फाका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरणको खेल खेल्न नपाएपछि यसअघि बसेको एन्फाको कार्यसमिति बैठकले क्षतिपूर्तिबापत १ करोड ५० लाख दिने निर्णय गरेको थियो ।

 तर, थ्री स्टारलाई क्षतिपूर्ति दिनेबारे केहि पदाधिकारीहरुले फरक मत राखेका थिए  ।  उनीहरुले घटनाका दोषीलाई कारबाही नगरी क्लवलाई क्षतिपूर्ति दिन नहुने बताएका थिए  । एन्फाले यसअघि एक छानविन समिति बनाएर दोषी देखिएका महासचिव धिरेन्द्र प्रधान तथा कर्मचारीहरु गोकुल थापा र बसन्त रिजाललाई कारबाहीका लागि सिफारिस गरेको थियो । एन्फाले गत भदौ २९ गतेदेखि उनीहरुलाई १५ दिनका लागि निलम्बन गरेको थियो ।