न्युयोर्क

रिपब्लिकन तथा डेमोक्र्याटिक नेताहरुबाट ट्रम्पको आलोचना

न्यूयोर्क, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कडा आप्रवासन नीतिबारे कङ्ग्रेसलाई खाका बुझाएका छन् । ट्रम्पले बुझाएको खाकामा रहेका बुँदालाई लिएर ट्रम्पकै रिपब्लिकन तथा डेमोक्र्याटिक नेताहरुलेसमेत आलोचना गरेका छन् ।

बाल्यकालमा अवैध रुपमा अमेरिका ल्याइएका आप्रवासी अर्थात् ‘ड्रिमर्स’ लाई संरक्षण गर्ने विषयमा सहमतिका लागि आवश्यक बुँदाहरु समेटेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काङ्ग्रेसमा खाका पेस गरेका हुन् । अवैध आप्रवासीप्रति अत्यन्त अनुदार रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रिमर्सबारे गरिने नयाँ सम्झौतामा रहनुपर्ने बुँदाहरु कङ्ग्रेसलाई बुझाए लगयतै यसको विशेष चर्चा चलेको छ । 

ह्वाइट हाउसले कङ्ग्रेसलाई बुझाएको खाकाका बुँदाहरुमा मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने, १० हजार आप्रवासन प्रहरी तथा १ हजार आप्रवासन कानून व्यावसायी परिचालन गर्ने, ३ सय ७० आप्रवासन न्यायाधीश तथा ३ सय आप्रवासन अभियोजनकर्ता परिचालन गर्ने उल्लेख छ । त्यस्तै, अमेरिकामा रहेका आप्रवासीले आफ्ना परिवारका सदस्यलाई अमेरिका ल्याउन पनि प्रतिबन्ध लगाउने ह्वाइट हाउसको खाकामा उल्लेख छ । ओबामा प्रशासनको कार्यक्रम खारेज गरेका ट्रम्पले त्यस कार्यक्रममा सहभागी आप्रवासीलाई बचाउ गर्नका लागि बनाइने नीतिमा खाकामा समेटिएका बुँदाहरु रहनैपर्ने बताएका छन् । 

सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामाले बाल्यकालमा अवैध रुपमा अमेरिका ल्याइएका ड्रिमर्स भनिने आप्रवासीलाई संरक्षण गर्ने तथा उनीहरुलाई अमेरिकामा काम गर्ने अनुमति प्रदान गर्न डेफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स डीएसीए कार्यक्रम ल्याएका थिए । यस कार्यक्रमलाई ट्रम्पले गत महिना खारेज गर्ने घोषणा गरेका थिए । घोषणाका क्रममा ट्रम्पले ड्रिमर्सबारे सम्झौता गरी नयाँ नीति बनाउन कङ्ग्रेसलाई ६ महिनाको समय दिएका थिए । 

कङ्ग्रेसमा सत्तारुढ रिपब्लिकन पार्टी कै बहुमत रहेपनि धेरै रिपबिलकन नेताहरुले ट्रम्पले पेस गरेको खाकाको आलोचना गरेका छन् । तर, ट्रम्पको आप्रवासन नीतिको आलोचना गर्दै आएको डेमोक्र्याटिक पार्टीले भने ट्रम्पका बुँदाहरु स्वीकार गर्नै नसकिने प्रतिक्रिया दिएको छ । अब ट्रम्पको खाका अनुसार कङ्ग्रसमा कस्तो सम्झौता हुन्छ त्यो भने चासोको विषय बनेको छ ।