न्युयोर्क

अमेरिका र टर्कीबीच भिसा सेवा बन्द

न्यूयोर्क, २३ असोज । अमेरिकी र टर्कीले आप्रवासीबाहेकका एकअर्काका नागरिकलाई भिसा दिन बन्द गरेका छन्। गत साता अमेरिकी वाणिज्यदूतावासका एक कर्मचारीलाई टर्कीमा गिरफ्तार गरिएपछि अमेरिकाले टर्कीका नागरिकलाई भिसा दिन बन्द गरेको थियो। त्यसको बदलामा टर्कीले अमेरिकी नागरिकलाई दिँदै आएको भिसा अवरुद्ध गरेको छ।
यो कदमसँगै केही अवस्थामा बाहेक टर्कीका नागरिकले अमेरिका र अमेरिकाका नागरिकले टर्कीको भ्रमण अनिश्चितकालका लागि गर्न नपाउने भएका छन्। अमेरिकाले टर्कीका नागरिकलाई भिसा नदिने निर्णय गरेको २४ घण्टा नबित्दै टर्कीले पनि अमेरिकी नागरिकलाई भिसा दिन बन्द गर्ने निर्णय गरेको हो।
टर्कीले अमेरिकी वाणिज्य दूतावासका कर्मचारी मेतिन तोपुजलाई फतुल्लाह गुलेनसँग सम्बन्धित रहेको भन्दै गिरफ्तार गरेको थियो। अमेरिकामा बस्दै आएका गुलेन गत वर्ष टर्कीमा भएको असफल सैन्य कु को योजनाकार रहेको आरोप टर्कीले लगाउँदै आएको छ।
कर्मचारीको गिरफ्तारीबाट आफूहरु ‘विचलित’ भएको अमेरिकाले जनाएको छ।