मनोरंजन

बुद्ध लामा बने पहिलो नेपाल आइडल

काठमाडौं, ७ असोज ।  बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन्। एपी वान टेलिभिजनबाट प्रशारित दोहामा भएको आइडलको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै लामा पहिलो नेपाल आइडल बन्न सफल भएका हुन्।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले नेपाल आइडलको उपाधि जितेका हुन्।
यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।
एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।
फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए। नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए।