समाचार

प्रहरीले ल्यायो ‘प्रहरी हाम्रो टोलमा’

काठमाडौं, ६ असोज ।  प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने गृहमन्त्रालयले देशभर प्रहरी हाम्रो टोलमा भन्ने अभियान एकैसाथ संचालन गरेको छ । शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन  र प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियानको गृहमन्त्री जर्नादन शर्माले काठमाडौंको भृकुटी मण्डपबाट उद्घाटन गरेका छन् । 
प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यका साथ यो अभियानको सुरुआत गरिएको गृहमन्त्रालयले जनाएको छ । 
यो कार्यक्रम शुक्रबार बिहान देखि देशैभर एकै पटक घोषणा भएको छ । शहरका समाजलाई टोलका रूपमा विकास गरी टोल सुधार समिती निमार्ण गर्ने र ग्रामिण भेगमा टोल सुधार समूह बनाएर स्थानीय प्रहरी, वडा प्रहरी, इलाका प्रहरी र प्रहरी पोष्ट र नागरिक मिलेर सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा तथा लागुऔषध लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण गर्नका लागी यो कार्यक्रमको खाँचो रहेको भन्दै प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियान संचालनमा ल्याएको गृहमन्त्रालयले प्रष्ट्याएको छ । 
अभियानकै क्रममा एक प्रहरी एक टोल निमार्ण गर्ने, स्थानीय टोल सुधार समितिहरू निमाण गर्ने, निर्धारित स्थानहरूमा सीसी टीभीहरु जडान गर्ने, आफ्नो टोल छिमेका भएका सामाजिक संस्था, उद्योग कलकारखानाको विवरण तयार गर्ने जस्ता योजना रहेको गृहमन्त्रालयले जनाएको छ । 
गृहमन्त्री शर्माले सार्वजानिक गरेको ८४ बुँदे गृह सुधार मार्गचित्रअन्तर्गत नै यो कार्यक्रम ल्याएको गृहमन्त्रालयले जनाएको छ ।