समाचार

दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा–आरधना

काठमाडौं, ६ असोज । नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन ब्रह्मचारीको पूजा आरधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारीणीको पूजा गरिन्छ । पूजा आजाका लागि विहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । 
नवरात्रको अवधिभर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यसैबीच घटस्थापनाको दिनबाट नवरात्र सुरु भएको छ । हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेका छन् । घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।   
राजधानीका तलेजु भवानी, गुह्वेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको भिड लागेको छ ।
नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको थियो । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गर्ने गरिन्छ ।
महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा गर्ने पराम्परा रहेको छ ।