समाचार

२० गतेदेखि डा. केसीको पुनः सत्याग्रह

काठमाडौं, ४ असोज । प्रा.डा. गोविन्द केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझावअनुसार परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्नुपर्नेलगायत चारबुँदे माग पूरा नभए असोज २० देखि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । 
उनले गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नागरिकको पहुँच स्थापित गर्ने आफ्नो अभियानका बाबजुद माफियागिरी हावी रहेको उल्लेख गर्दै सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् ।
डा केसीले चिकित्सा शिक्षा विधेयकलाई नेताहरूले आफ्नो स्वार्थअनुसार तोडमरोड गरी माफियामुखी बनाएर पारित गर्ने प्रयास गरिरहेको आरोप लगाए ।
मेडिकल माफियासँग मिलेर काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसको शुल्क ६० लाखभन्दा बढी निर्धारण गरेको दाबी गर्दै उनले त्यसलाई अविलम्ब फिर्ता लिन आग्रह गरे ।
सरकारले आर्थिक वर्ष २०७४र७५ सम्मका लागि तोकेको एमबीबीएसको शुल्क काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसको शुल्क १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ नै कायम गर्नुपर्ने उनले बताए ।