राजनीति

दशैं तिहारको नाममा कुनैपनि दलहरुलाई चियापान गर्न दिँदैनौंः प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, ४ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठ लगायतका चाडपर्व लक्षित चियापन आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।  उनले भने, ‘अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भैसकेका छ, निर्वाचन आचारसंहिता लागु भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतना अपनाएको छ, हामी यस्ता खाले चियापन गर्न दिँदैनौं।’

मंगलबार काठमाडौंको लैनचौरस्थित् लैनचौर ब्यांक्वेटमा नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा ‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिकामाथि बहस’ नामक कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त डा. यादवले यस्तो बताएका हुन् । उनले निर्वाचन लक्षित गरेर कुनैपनि चियापान समारोह नगर्न आग्रह गरे । उनले थपे,‘राजनीतिक दलहरुलाई पनि चियापान नगर्न म विनम्र अनुरोध गर्छु।’

निर्वाचन आचारसंहित कार्यान्वयनको लागि आयोग खरो रुपमा उत्रिने बताउँदै उनले थपे,‘मंसिर १० को निर्वाचन आउन धेरै बाँकी छैन, यो निर्वाचन लक्षित गरेर कुनैपनि चियापान समारोह नगर्नुहोस, चाडपर्वकै मुखमा गरिने चियापानले पनि चुनावी गन्ध ल्याउँछ, त्यसैले यस्ता चियापान गर्दै नगर्नुहोस, म यही कार्यक्रममार्फत उद्धघोष गर्न चाहन्छु, कसैले दशैं, तिहार र छठकोअघि गरिने चियापान हामीलाई सह्यै हुँदैन, चुनावी प्रचारको लागि गरिने यस्ता कार्यक्रमहरु हामी निषेध गछौं।’

माघ ७ गतेभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहको निर्वाचन ऐतिहाँसिक रुपमा सम्पन्न भएकोले बाँकी आउने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपनि सफल रुपमा सम्पन्न गर्न आयोग आँतुर रहेको उनको विश्वास थियो । 

स्थानीय तहको निर्वाचनमा ऐतिहाँसिकता प्राप्त भएको बताउँदै भने,‘आम जनताहरुले व्यापक उत्साह देखाएर मतदान गर्नुभएको भन्ने कुरा ७७ प्रतिशत मत खसेसँगै प्रमाणित भैसकेको छ, यसको श्रेय मधेशका जनता, राजनीतिक दलहरु र आम पत्रकारहरुलाई दिनेछु, यस्तैगरि आउने दुईवटा निर्वाचनहरु क्रमशः प्रदेश सभा र प्रतिनिधि सभाको पनि सफलताको लागि यहाँहरुसँग मेरो यस्तै खालको अपेक्षा रहेको छ, सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छ।’