विश्व

कोरियाली आकाशमा अमेरिकी शक्ति प्रदर्शन !

अमेरिका, ३ असोज । अमेरिकाले उत्तर कोरियाली प्रायद्धिपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएको छ ।  यसलाई अमेरिकाको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । दक्षिण कोरियाका सैनिकसँगै अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।
अमेरिकाका ४ वटा युद्धक विमान र २ वटा बम वर्षक विमान उडाएर उत्तर कोरियालाई तर्साउन लागेको बताइएको छ ।  दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले रणनीतिक बमवर्षक विमान प्रयोग गरेको उल्लेख गरेको छ ।
उत्तरकोरियाको चेतावनी 
उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्धले आफ्नो देशलाई केही फरक नपर्ने बरु परमाणु कार्यक्रमलाई तीव्रता दिने चेतावनी दिएको छ ।  उत्तर कोरियाको विदेश मन्त्रालयले राष्ट्रसंघले लगाएको प्रतिबन्धको कडा शब्दमा निन्दा गरेको बीबीसीले जनाएको छ ।
यही बीचमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका छन् । उत्तर कोरियाले यही शुक्रबार जापानमाथि अर्को मिसाइल प्रहार गरेको थियो । त्यसपछि राष्ट्रसंघले उत्तर कोरियालाई प्रतिबन्ध लगाएको थियो ।