राजनीति

देउवा सरकार बन्यो ५६ सदस्यीय

काठमाडौं, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकका विराज विष्ट र कमलादेवी शर्मालाई समेटेर सोमबार छैटौं पटक सरकार विस्तार गरेका हुन्। 
प्रधानमन्त्री देउवाले विष्टलाई विज्ञान तथा प्रविधि राज्यमन्त्री र शर्मालाई वन तथा भूसंरक्षण राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। दुवै राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबारै दिउँसो पद तथा गोपनियताको सपथ खुवाएका छन्।
दुई राज्यमन्त्री थपिएसँगै देउवा नेतृत्वको सरकार ५६ सदस्यीय बनेको छ। इतिहासकै जम्बो मन्त्रिपरिषद बनाएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकका दुई जना राज्यमन्त्री सरकारमा थपेका हुन्।
यसअघि प्रधानमन्त्री देउवाले भदौं २६ गते राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई उद्योग, दिपक बोहोरालाई विज्ञान तथा प्रविधि र विक्रम पाण्डेलाई वन तथा भूसंरक्षण मन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका थिए।
गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्री बनेका देउवाले २२ वर्ष पुरानो आफ्नै रेकर्ड तोड्दै ५६ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्। छैटौं पटक सरकार विस्तार भएपछि देउवा नेतृत्वको वर्तमान सरकारअब २९ मन्त्री र २६ राज्य मन्त्री गरी ५६ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।