राजनीति

प्रदेश नम्बर २ मा मतदान सुरु

काठमाडौं, २ असोज ।  कडा सुरक्षाबीच प्रदेश नम्बर दुइमा मतदान सुरु भएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरु भएको हो ।  निर्धारित समयभन्दा आधा घण्टा अघि नै मतदाता लाइनमा बसेका छन् ।  निर्वाचन आयोगले पनि बाढीलाई विर्सेर मतदानमा सहभागी हुन आग्रह गरेको छ । 
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले बाढी र डुवानको पीडालाई भुलेर मतदानमा सहभागी हुन आग्रह गरेका हुन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा अहिले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । 
प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा मतदान सुरु भएको हो । 
यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । 

तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी कायम रहेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । 

स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । यसैबीच ८ वटै जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ । 
वीरगन्जमा बिहानैदेखि मतदाता लाइनमा बसेका छन् । सर्लाहीका मतदान केन्द्रमा पनि बिहानै लाइनमा उभिएका छन् । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदानस्थलमा बिहानै मतदाताको उल्लेख्य सहभागीता देखिएको छ ।  जनकपुरमा पनि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।