खेलकुद

यु १९ एसिया कप छनौटः नेपाल र हङकङ भिड्दै

काठमाडौं, १ असोज । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा स्थान पक्का गर्न नेपालले आज हङकङको सामना गरिरहेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै विकेट लिएर  खेलमा शुखद शुरुवात गरेको छ ।  
मलेसियाको किन्ररा ओभल मैदानमा जारी खेलमा नेपालले जित हात पार्ने अपेक्षा गरिएको छ । आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ । प्रतियोगितामा नेपालको बलिङ र ब्याटिङ दुवै पक्ष सन्तुलित देखिएको छ । 
नेपाल सेमिफाइनलमा मलेसियालाई १० विकेटले र र हङ्गकङ्ग सिंगापुरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता विश्व क्रिकेटका महारथी देशले पनि खेल्नेछन् । 
छनोट प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाली खेलाडीकै बर्चश्व छ । धेरै विकेट लिने बलरको शिर्ष ३ स्थानमै नेपाली बलर परेका छन् । १३ विकेट लिएका सन्दिप लामिछाने अहिलेसम्मको पहिलो स्थानमा छन् भने १२ विकेट लिएका कप्तान दिपेन्द्रसिंह ऐरी दोश्रो र ८ विकेट लिएका पवन सर्राफ तेश्रो स्थानमा छन् ।