खेलकुद

सिंगापुर ७ विकेटले पराजित, नेपाल समूह विजेता

काठमाडौं, २९ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो । 
सिंगापुरमाथिको जितसँगै समूह ए को नेपालले समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । एक खेल अगाबै सेमिफाइनलमा पुगिसकेको नेपालले ३ खेलमा सतप्रतिशत नतिजा ल्याएर ६ अंक जोडेको छ । अघिल्ला दुई खेलमा जित निकालेको सिंगापुर पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यो जितसँगै  नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायम राखेको छ । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् । अब नेपालले फाइनल प्रवेशको लागि समूह बि को उपविजेतासँग खेल्नेछ । नेपालले समूह बि मा रहेको आयोजक मलेसिया र हङकङबीचको एक टोलिसँग खेल्नेछ । यो समूहको बिजेता र उपविजेता तय भैसकेको छैन ।
मलेसियाको क्लब अमान ओभलमा सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ओपनर सन्दिप सुनारले २० तथा अनिल कुमार साहले १८ रन जोडे । त्यस्तै सुमित महर्जन  ११ र सन्दिप जोरा ७  रनमा अविजित रहदा आसिफ शेख ६ रन बनाए ।  सिंगापुरका अभी दिक्षितले २ तथा अनश भर्गावाले एक विकेट लिए । 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८ ओभर ३ बलमा अलआउट हुँदै ६७ रन बनाएको थियो । नेपाली बलरले किफायती बलिङ प्रदर्शन गरेपछि सिंगापुरका सिधान्त र अर्यमान सुनीलले समान २० – २० रन तथा रोहण रङराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन्  । 
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सराफ एक्लैले ६ विकेट लिए । पवनले ८ ओभरमा ४ मदनसहित मात्र १२ रन खर्चिएका थिए । यस्तै नेपालका लागि किशोर महतोले २ तथा कप्तान दिपेन्द्र सिंह एरीले १ विकेट लिए ।