मनोरंजन

‘दशै आयो..., परदेशीको मनै रुवायो’

काठमाडौँ, भदौ । गायक गायिकाहरुले विभिन्न अवसर पारेर गीतहरु बजारमा ल्याउने गरेका छन् । केही महिना अघि तीजलाई लक्षित गरी धेरै गीत बजारमा आएका थिए । अहिले दशैं र तिहारलाई लक्षित गरी बजारमा धमाधम गीत आउन थालेका छन् भने रेडियो तथा टेलिभिजनमा पनि दशैंका गीत बज्न थालिसकेका छन् । 
यही मेसेमा गायक तथा संगीतकार टंक बुढाथोकीको दशैं गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् । दशैंका बेला परदेशीहरुको अवस्था कस्तो हुन्छ भन्ने वास्तविकतालाई नजिकबाट प्रस्तुतिकरण गरिएको यो भिडियो कारुणिक र मर्मस्पर्शी बनेको छ । दशै, तिहार, तीज जस्ता पर्व र यसका महत्वहरुलाइ समेटेर पछिल्लो समयमा नेपाली साङगीतिक क्षेत्रमा धेरै गीत र त्यसका म्युजिक भिडियोहरु बन्ने गरेका छन् । 
टंक बुढाथोकीले बजारमा ल्याएको गीतको शब्द ‘दशै आयो दशै आयो परदेशीको मनै रुवायो’ बोलले दर्शक तथा श्रोताको मन छुने दाबी गरे । नेपालीहरुको महान् चाड बडादशैंको परम्परागत शैली र आधुनिक बाध्यतालाई फ्युजन गरेर बनाइएको भिडियो हेर्न लायक बनेको छ । पछिल्लो समयमा सांगीतिक क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, सङ्गीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन् । दर्जनौ चलचित्रका र आधुनिक हिट गीतहरु निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला रगला प्रस्तुत गर्दै दर्शकहरुको मन जित्न सफल भइसकेका छन् । 
यस गीतमा शब्द तथा सङ्गीतमा दिपक पाण्डे, एरेन्जर र स्वर टङ्क बुढाथोकी, क्यामेरामा ख्यातिप्राप्त डाइरेक्टर समन अधिकारी र दिपेन्द्र थपलियाको रहेको छ भने भिडियोमा मुख्य अभिनय मा बलराम र सुप्रिया, मोहन, लक्ष्मीका साथै युएईमा सहयोगी पात्रहरू खगेन्द्र बुढाथोकी, भरत बुढाथोकी, पारस लामा, मोहन शिवाकोटी, प्रबिन निरौला, आशिष पुरुष, सुमन भट्टराई, रुक्मान थापा, प्रेम अधिकारी लगायतका दुई दर्जन भन्दा बढी प्रवासी नेपालीहरुको उपस्थिति रहेको देख्न सकिन्छ भने भिडियोको सुटिङ दुबई, सारझाहा,आजमान र रासअलखैमा गरिएको हो ।
यसैबीच, दशैं नजिकिएसँगै अम्बिका गुरुङको गीत पनि सार्वजनिक भएको छ । उनको दशैं गीत ‘आयो दसैँ आयो, चारैतिर खुशियाली ल्यायो’ बोलको गीत सार्वजनिक भएको हो । कृष्ण काफ्लेको स्वरमा रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ भने संगीत संयोजन मोहित मुनालले गरेका छन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको टिमको छायाङ्कन छ । भिडियोमा कृष्ण, बर्षा, बिकास र दिपिकाको अभिनय रहेको छ ।