राजनीति

समृृद्ध मधेश बनाउने संयोजक डा भट्टराईको एजेण्डा

लहान, २९ भदौ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।  तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुगेका संयोजक डा भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो । 
‘हामी जे बोल्छौँ, त्यही गार्छौँ, उनले भने– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।” 
मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो ।