खेलकुद

अर्पणको कप्तानीमा यू–१८ फुटबल टोली घोषणा

काठमाडौं, २९ भदौ । भुटानमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबलको लागि नेपाली टोलीको घोषणा गरिएको छ । असोजको पहिलो साताबाट सुरु हुने च्याम्पियनसिपको लागि अर्पण कार्कीको कप्तानीमा १८ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको हो । अखिल नेपाल फुटबल सघ एन्फाले ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपको आधारमा खेलाडी छनोट गरेको हो । 

एन्फाले पहिलो चरणमा डाकिएको ७४ खेलाडीबाट २३ सदस्यीय हुँदै अन्तिम १८ सदस्यीय नेपाली टोली छनोट गरेको हो । नेपाली टोलीमा कप्तान तथा गोलकिपर अर्पणसँगै उपकप्तान प्रिजन तामाङ, सन्देश गुरुङ, अबिषेक रिजाल, सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, अशिम भुसाल, विकास खवास, निराजन महर्जन र राजन गुरुङ परेका छन् ।

त्यस्तै दिनेश हेन्जन, अशोक मगर, अभिषेक रिजाल, एरिक बिष्ट, अनिल महर्जन, सेसेहाङ आङदेम्बे र राजिब लोचन टोलीमा परेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ, सहायक प्रशिक्षकमा पुस्कर शाही, गोलकिपर कोच मृगेन्द्र मिश्र र टिम म्यानेजरमा गणेश चन्द रहेका छन् ।

पहिलो खेल भुटानसँग 
च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक भुटानको सामना गर्ने भएको छ । बुधबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्दी भुटान परेको हो । प्रतियोगितामा नेपाल र भुटानबीचको खेल असोज ४ गते हुनेछ । पाँच टोलि सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र ११ गते भारतसँग खेल्नेछ ।

प्रतियोगितामा सार्क राष्ट्रका पाकिस्तान र श्रीलंकाले भने सहभागिता जनाएका छैनन् । प्रतियोगिता लिगको आधारमा हुनेछ । सहभागी पाँच टोलीले एक अर्कासँग लिग खेल खेल्नेछन् । लिगको शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छन् । त्यस्तै अंकको आधारमा उपविजेता र तेस्रो स्थानको निर्णय हुनेछ । यू–१८ को कप्तानी अर्पण कार्कीले सम्हाल्नेछन् भने प्रिजन तामाङलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।