खेलकुद

समूह बिजेता बन्ने लक्ष्यसहित सिंगापुरको सामना गर्दै नेपाल

काठमाडौं, २९ भदाै ।  मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार अहिले बिहान सवा सात बजे क्लब अमान ओभलमा सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ । समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो । दुई खेलमा ४ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यता, सिंगापुर पनि दुई खेलमा अपराजित छ । सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो । सिंगापुरको पनि ४ अंक छ तर, नेट रनरेटको आधारमा सिंगापुर नेपाल भन्दा पछि छ । छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो । तर, नेपाली टोलीका प्रशिक्षक बिनोद दासले सिंगापुरबिरुद्ध जित निकाल्न नेपाललाई कठिन नरहेको दाबी गरे । प्रशिक्षक दासले भने, “सतप्रतिसत हाम्रो सम्भावना छ । सिगापुर राम्रो टिम हो । तर, हामीले आफनो स्तरअनुसार खेले जित हासिल गर्न कठिन छैन ।”