राजनीति

मधेशको मुद्दा सम्बोधन गर्न काँग्रेसले जित्नुपर्छः प्रधानमन्त्री

जनकपुर, २९ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन । जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भने । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै कांग्रेसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गरे ।
मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उनले उल्लेख गर्दै उनले नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न कांग्रेसलाई अग्रस्थान दिलाउन आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताए । महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली कांग्रेस पर्याय भएकाले मधेशमा कांग्रेसलाई पहिलो दल बनाउन आवश्यक रहेको बताए । पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताए ।