राजनीति

सर्वोच्च न्यायाधीशमा ३ को नाम सिफारिस

काठमाडौं, २९ भदौ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ । परिषद बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । चार जना स्थायी न्यायाधीशको पद खाली रहेको सर्वोच्चमा परिषद्ले तीन जनाको नाममात्र सिफारिस गरेको हो । 
यस्तै परिषदले एक सय ९७ जना जिल्ला न्यायाधीश सरुवाको सिफारिस पनि गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई कास्कीमा सरुवा गर्न सिफारिस गर्दै परिषद्ले काठमाडौं जिल्ला अदालतमा सुनसरीका न्यायाधीश रमेशराज पोखरेलको प्रस्ताव गरेको छ । पोखरेल अहिले जिल्ला अदालत भक्तपुरमा काजमा छन ।
यस्तै परिषद बैठकले आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाउन ७७ जनाको नाम सिफारिस गरेको छ । प्रमुख निर्वाचन अधिकृतमा जगेडा रहने १० जनाको नाम पनि बैठकले तय गरेको छ ।