खेलकुद

दोस्रो खेलमा नेपाल र भुटान भिडन्त

काठमाडौं, २८ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको दोस्रो खेलमा नेपाल र भुटान भिडिरहेका छन् ।  प्रतियोगितामा नेपालले सहज प्रतिद्वन्द्वि मानिएको भुटानसँगको खेलमा पहिले फिल्डिङ गरिरहेको छ । भुटानले टस जितेर ब्याटिङ रोजेको हो । भुटानलाई हराउने वित्तिकै नेपालको अघिल्लो चरण यात्रा लगभग पक्का हुनेछ । फाइनल पुग्ने दुई टोली यू १९ एसिया कपको लागि छनोट हुनेछ । यो नेपालको सुरुआत मात्र हो, लक्ष्य एसिया कप पुग्नु रहेको टोलीले स्वदेश छाड्ने बेलामा टोलीलेको प्रतिबद्धता थियो ।
पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको नेपाली टोली भुटानविरुद्ध पनि उत्कृष्ट जितको व्यग्र प्रतिक्षामा रहेको छ । थाइल्याण्डविरुद्ध उत्कृष्ट खेलेको र भुटानविरुद्ध पनि आफ्ना खेलाडीले त्यो प्रदर्शन कायम राख्नेमा नेपाली टोलीका प्रशिक्षक विनोद दास ढुक्क छन् । भुटानसँगको खेलअघि प्रशिक्षक दासले भने, ‘हामी हरेक दिन खेल सुधार गर्ने सोचमा अगाडि बढिरहेका छौं । अहिले हामीले धेरै अगाडि सोचेको छैनौं । बुधबार भुटानलाई जित्नेमात्र सोचेका छौं । भुटानले हामीसँग राम्रो टक्कर गरोस् भन्ने हामी चाहन्छौं । हाम्रो लक्ष्य पक्कै पनि च्याम्पियन बनेर एसिया कप छनोट हुने हो ।’
सोमबार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनको फराकिलो जित हासिल गरेको थियो । नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलर सन्दिप लामिछाने चम्किएपछि २६ रनमा अलआउट भएको थियो  । थाइल्याण्डविरुद्ध सन्दिपले मात्रै ४ ओभरमा १ मेडन राखेर ६ रनमात्र खर्चिएर ७ विकेट लिएका थिए । यता, भुटान भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । प्रशिक्षक विनोद दासले आफ्ना खेलाडीले सोचेको जस्तो ब्याटिङ गरे भुटानमाथि जित सहज हुने बताए । 
यस्तै, नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले भुटानको खेलबारे खासै जानकार नरहेको तर आफूहरुको लक्ष्य एसिया कप खेल्ने भएकोले त्यसमा फोकस हुने बताए । पहिलो पटक नेपाली यू–१९ टोलीको कप्तानी सम्हालिरहेका ऐरीले भने, ‘भुटानको बारेमा मलाई धेरै थाहा छैन । तर, हामी आफ्नो खेलमा विश्वास गर्छौं । हामीले हाम्रो स्तर अनुसारको खेल खेले जित निकाल्न हामीलाई कठिन हुँदैन । यो प्रतियोगितालाई एसिया कप तयारीको रुपमा लिएको छौं । एसिया कप खेल्नको लागि पनि हामीले यहाँबाट च्याम्पियन भएर फर्कनुपर्छ ।’
छनोटको समूह ए मा रहेको नेपालले २ अंक जोडेको छ र नेपाल समूहको दोस्रो स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । सिंगापुर समूहको शीर्ष स्थानमा छ । छनोटको समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।