राजनीति

कम्युनिष्ट प्रजातन्त्रवादी होइनन्ः प्रधानमन्त्री

सप्तरी, २८ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकदलीय तानाशाही ब्यवस्था लाद्न खोजेको बताएका छन । कम्युनिष्टहरु कहिल्यै पनि प्रजातन्त्रवादी हुन नसक्ने भन्दै देउवाले एमालेले मधेशी जनताको भावनासँग खेलवाड गरेको पनि बताए । प्रदेश नम्बर २ मा आगामी सोमवार हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीको राजविराजमा कांग्रेसले गरेको चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेशी जनताले यसपटकको निर्वाचनमा एमालेलाई जवाफ दिनै पर्ने बताए ।
नेपाली कांग्रेका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मधेशी जनताको भावना अनुसार काँग्रेसले संविधान सशोधन प्रस्ताव संसदमा लगेपनि एमालेले असहयोग गरेका असफल भएको भन्दै सो प्रस्ताव पारित गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । नेपालका हरेक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गरेको चर्चा गर्दे कांग्रेस सभापति देउवाले मधेशी जनताको भावनाको सदैव सम्मान गर्ने बताउनुभयो । देउवाले मधेशवादी दलहरुको आपसी विवाद र फुटका कारण मधेशको समस्या समाधान गर्न सक्षम नरहेको बताए । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले विरुद्ध निकै अक्रामक शैलीमा प्रस्तुत भए । नेता पौडेलले दक्षिणपन्थी र प्रतिगमनकारी दल एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउँदै संविधान सुधारका लागि मधेशी जनताको भावना अनुसार संशोधन गर्न कांग्रेस तयार रहेको बताउनुभयो । मधेश, कांग्रेस र लोकतन्त्र एक अर्काको परिपूरक रहेको बताउँदै उनले तराई मधेशको सम्मान र पहिचानको पक्षमा सदैव रहने उल्लेख गरे । महामन्त्री डा. शशांक कोईरालाले काँग्रेसको नेतृत्वमै मधेशलाई समृद्ध बनाउन सकिने बताए ।
यसअघि विराटनगर विमानास्थलमा संचाकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको बताए । उनले  सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने पनि बताए ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै उनले भने,‘आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गरे ।
नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उनले यस विषयमा छानबिन भइरहेको बताए । नेपाली काँग्रेसको सभापतिसमेत रहेका देउवासमक्ष पत्रकारले राखेको अर्को एक जिज्ञासामा उनले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने जनाए । मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताए ।