राजनीति

प्रदेश नम्बर २ मा चुनावी चटारो

धनुषा, भदौ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनको माहोल निकै गरमागरम भएको छ । उसै त भदौरे घामले तातेको तराईमा यतिबेला निर्वाचनको प्रचार प्रसारले झनै तातेको छ । सो प्रदेशमा आगामी सोमबार हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई केन्द्रित गरेर अहिले प्रमुख तीन दलमात्र होइन मधेशकेन्द्रित दलको चुनावी दौडाहा चलिरहेको छ, जसले तराई–मधेशमा राजनीतिक सरगर्मी बढाएको छ ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुईसाता अघिदेखि नै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावीसभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमलगायत पार्टीको मधेश प्रचारले निर्वाचन माहोल ह्वात्तै बढेको छ । मुख्य प्रतिस्पर्धामा रहेका तराई केन्द्रित दलमध्येको राजपा शनिबार तराई झरेर निर्वाचन अभियानमा होमिएको छ ।

नेपाली काँग्रेसले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक सीट ल्याउने योजनाका साथ तीव्र तयारी थालेको छ । प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमध्ये १ सयभन्दा बढी तहमा जित्ने रणनीतिका साथ काँग्रेसले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको काँग्रेस नेता रामकृष्ण यादवले बताए । निर्वाचनमा पार्टीका पक्षमा माहोल बनाउन पार्टीका शीर्ष नेताले आजदेखि प्रदेश नं २ का आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका केही दिनदेखि निर्वाचनको तयारीमा खटिएका यादवले जानकारी दिए ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालगायत शीर्ष नेताहरुले मंगलबारदेखि प्रदेश नं २ का सबै जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका छन । त्यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुईसाता अघिदेखि नै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावी सभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेश केन्द्रित दलहरू पनि पहिलो हुने रणनीतिका साथ निर्वाचनमा होमिएका छन् । 

प्रदेश नं २ का कुल १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा छ हजार छ सय पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेको प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । 

चुनावका लागि प्रदेश नम्बर २ मा केन्द्रीय नेताहरूको लर्को लागेको छ ।  सोमबारदेखि नै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता विमलेन्द्र निधि प्रचारप्रसारमा व्यस्त छन । माओबादी अध्यक्ष पुष्पकमल दाहाल एक हप्ताअघिदेखि नै डेरा जमाएर बसेका छन्। 

चुनावी सभाहरुमा एक पार्टीका नेताले अर्को पार्टीका नेतालाई छेडछाड गर्ने क्रम पनि जारी छ । नयाँ शक्ति नेपालको अवधारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पुरानै व्यक्ति लाज पचाएर मत माग्न आइरहेको बताए । ‘त्यस्तालाई पहिचान गरी स्वच्छ व्यक्तिलाई मत दिन आग्रह गर्छु,’ उनले भने । संघीय समाजवादी फोरमका अध्यक्ष यादव पनि कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उनले मधेसमा विकास र अधिकार चाहिएको बताए । तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलको प्रचारप्रसार अबेर रातिसम्म हुन थालेको छ । उम्मेदवारी दर्ता गराएर घरदैलो सुरु गरेका उम्मेदवार प्रचारमै छन् । 

यसैबीच स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ । मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले जानकारी दिए ।