राजनीति

मतदाता रिझाउन दलका शीर्ष नेता मधेस दौडाहामा

काठमाडौं, २७ भदौ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावका लागि प्रमुख दलका शीर्ष नेताहरु यतिबेला दुई नम्बर प्रदेशका ८ जिल्ला दौडाहामा छन् । आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावका लागि मतदाता रिझाउन दलका नेताहरु अहिले मधेस दौडाहा लागेका हुन् । 
एक सय ३६ स्थानीय तहका लागि हुन लागेको चुनावमा मतदातालाई आफ्नो पक्षमा पार्न दलका केन्द्रीय नेताहरु आफ्नो पार्टीलाई २ नम्बर प्रदेशमा १ नम्बर बनाउन कम्मर कसेरै लागेका छन् । 
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मोवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल लगायतका दलका केन्द्रीय नेता मधेस पसेका छन् । 
नेताहरु आफ्ना पार्टीका उम्मेदवार सँगै घरदैलो कार्यक्रम र चुनावी प्रचार प्रसार कार्यक्रममा सरिक भएका छन् । धनुषामा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधी छन् । गत सोमबार नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पनि धनुषा पुगेका हुन् ।  मंगलबार राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो जनकपुर जाँदैछन् । 
यस्तै प्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार जनकपुरमा चुनावी भेलालाई सम्बोधन गर्ने तय भइसकेको छ ।