समाचार

सुन तस्करका नाइके माओवादी नेता

काठमाडौं, २७ भदौ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासी बिदामा बसे। उनी कामको सिलसिलामा बाहसिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्पर्कबिहिन भए। २० दिन बिदा लिएर बसेका पौडेलको अहिले मोबाइल स्वीच अफ छ। पौडेल बिदामा बसेर सम्पर्कबिहिन भएको कारण बल्ल खुल्यो- प्रहरीले बरामद गरेको १५ किलो सुन।  नागरिकमा खबर छ ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष तथा माओवादी नेता राजकुमार पौडेल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भदौ १५ मा केरूङ तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो। पक्राउ परेकाहरूले सुन तस्करका नाइके पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कबिहिन भए। पौडेल अहिले भारतमा रहेको व्यूरोको निष्कर्ष छ।

केरूङ र तातोपानीबाट भित्रिएको २२ किलो सुन काठमाडौंमा रहेको सूचनाका आधारमा  भदौ १५ मा ब्यूरोको टोली खोजीमा खटिएको थियो। टोलीले सोही दिन टोखा नगरपालिका११ बाट १४ किलो सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ गर्‍यो। उनले २ किलो सुन जनकपुर पुर्‍याएको बयान दिएपछि धनुषा प्रहरीको सहयोगमा १ किलो सुनसहित दीपकुमार साह पक्राउ परे। साहको पक्राउपछि एक किलो सुन भारत पुगेको खुल्यो। बाँकी ६ किलो सुन कहाँ छ अझै खुलेको छैन। अनुसन्धान ब्यूरोका अनुसार १४ किलो सुनसहित पक्राउ परेका शेर्पा पौडेलका  मुख्य सहयोगी हुन्। उनी काठमाडौं बसेर पौडेलको निर्देशनमा तातोपानी र केरूङमा मान्छे खटाउन सक्रिय देखिएक छन्।