राजनीति

जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले थप १४ मन्त्रीलाई तलब खुवाउन करिब १० करोड रुपैयाँ नपुग्ने जनाएको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्।

प्रधानमन्त्री कार्यालयको आर्थिक प्रशासन शाखाका अनुसार चालु आर्थिक वर्ष ०७४/७५ का लागि मन्त्रीको तलबमा १३ करोड १५ लाख ७८ हजार, महँगी भत्तामा ४७ लाख ४० हजार गरी कुल १३ करोड ६३ लाख ७८ हजार र भ्रमण तथा अनुगमन खर्च १ करोड ३० लाख प्रस्ताव गरिएको थियो।

शाखाका एक अधिकृतका अनुसार जम्बो मन्त्रिपरिषद् बनेपछि प्रस्तावित रकममा झन्डै १० करोड अपुग हुने देखिएको छ। ‘तलब खुवाउन अर्थ मन्त्रालयसँग थप रकम माग नगरी उपाय छैन’, ती अधिकृतले भने। उनका अनुसार मन्त्रीको अनुगमन खर्च पनि अब २ करोड बढी लाग्ने देखिएको छ।’

देउवा नेतृत्वको मन्त्रिपरिषद्मा २४ जना त राज्यमन्त्री मात्रै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रालयमा राज्यमन्त्रीको खासै काम नहुने भएकाले उनीहरूको बढी समय जिल्ला भ्रमण र अनुगमनमै बित्ने गर्छ। राज्यमन्त्रीको संख्या बढी भएकाले अनुगमन खर्च मात्रै दोब्बरले बढ्ने कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रीको संख्या बढेपछि तलब-भत्तालगायत खर्च बढ्नु स्वाभाविक भएको बताए। राजनीतिक संक्रमण व्यवस्थापनका लागि बाध्यतावश सरकार विस्तार भएको बताउँदै प्रवक्ता पन्थीले तलब अपुग भए अर्थ मन्त्रालयसँग माग गरिने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै सबैभन्दा बढी ५४ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन गरेर खर्च अत्यधिक बढाएका हुन्। यसअघि ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा उनले ५२ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। ०५२ सालमा पहिलोपटक मुलुकको प्रधानमन्त्री हुँदा ५२ सदस्यीय मन्त्रिमण्डल गठन गरेपछि उनले व्यापक आलोचना खेपेका थिए।

संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी लिएर शासन सञ्चालन गर्न चौथोपटक सिंहदरबारमा इनिङ गरेका देउवामाथि तीन महिना बित्दानबित्दै उनकै कार्यशैलीका कारण मुलुकमा कुशासनको बिजारोपण हुन थालेको र संविधानको मर्ममाथि नै गम्भीर आघात पुर्याएको आरोप लागेको छ। देउवाले चौथोपटक गत जेठ २४ गते प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका थिए।

पदभार ग्रहण गर्दै गर्दा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदीले प्रधानमन्त्री देउवालाई पहिलो निर्णयका रूपमा सदाचार नीतिको मस्यौदामा हस्ताक्षर गर्न लगाएका थिए। प्रधानमन्त्री देउवाले सिंहदरबारमा चौथो इनिङ गर्दै गर्दा पहिलो निर्णयका रूपमा मुलुकमा नैतिकता र इमानदारी हराउँदै गएकाले राष्ट्रसेवकलगायत सबै पदाधिकारीलाई नैतिकवान बनाउन राष्ट्रिय सदाचार नीति ल्याउने निर्णय गरेका थिए। तर, जम्बो मन्त्रिपरिषद् गठनको निर्णयसँगै उनको त्यो सदाचार नीति ल्याउने निर्णयसमेत फितलो भएको टिप्पणी प्रधानमन्त्री कार्यालका अधिकारीहरूले गरेका छन्।

संविधानको धारा ७६ को उपधारा ९ मा संघीय शासन प्रणालीमा बढीमा २५ जना मात्रै मन्त्री रहनुपर्ने प्रावधान स्पष्टसँग उल्लेख गरिएको छ। तर, संविधान कार्यान्वयन गर्ने जिम्मेवारी लिएर गठन गरिएको भनिएको देउवा सरकारले संविधानले व्यवस्था गरेको भन्दा दोब्बर बढी मन्त्री बनाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार एउटा मन्त्री थप हुँदा मुलुकले सबै प्रकारका खर्च गरेर वार्षिक झन्डै २ करोड व्ययभार खर्चनुपर्छ। ५४ जना मन्त्री हुँदा तलब-भत्ता र मन्त्रीको थप सुविधमा मात्रै मुलुकले वार्षिक डेढ अर्बभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले जनाएका छन्।