विश्व

फ्लोरिडामा ६० लाख विस्थापित, नेपालीहरु पनि चपेटामा

 सञ्जय घिमिरे ।

अमेरिका, २६ भदौ ।   अमेरिकाको फ्लोरिडा राज्यमा आएको सामुन्द्रिक आँधीबरी ‘इर्मा’ले यहाँको जनजीवन तहस नहस बनाएको छ। आँधीबेरीका कारण फ्लोरिडाका साठी लाख मानिस आफनो घर छोडेर सुरक्षित स्थानतर्फ लाग्न बाध्य भएका छन्। यो क्षेत्रमा रहेका कतिपय नेपालीहरु अन्य राज्यतिर लागेका छन् भने कतीपय नेपालीले सेल्टरहरुमा आश्रय लिइरहेका खबरहरु प्राप्त भएका छन्।

फ्लोरिडामा तीस लाख भन्दा बढी मानिसहरु बिद्युत सेवाबाट बन्चित भएको र जनजीवन थप कष्टकर बन्दै गइरहेको सम्बद्ध अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार अनुसार राज्यका पाँच सय तीस सेल्टरमा एक लाख १६ हजार मानिसले शरण लिइरहेका छन्।

आँधीबेरी जारी रहेका कारण क्षतीका विवरणहरु संकलन गर्न सक्ने अवस्था समेत छैन। यद्यपी अधिकारीहरुले अहिलेसम्म चारजनाको मृत्यु भएको जानकारी दिएका छन्। आँधीबेरीबाट संसारकै प्रसिद्ध पर्यटकीय सामुन्द्रीक तट मियामी बिच, डेटोना बिचका साथै तटीय क्षेत्रका शहरहरुमा सबैभन्दा बढी क्षती पुगेको बताइएको छ।

आँधीबेरी तिब्र भएकाले उद्धारकर्ता तथा सुरक्षाकर्मीलाई समेत उद्दारमा कठिनाइ भएको छ। ‘फ्लोरिडा राज्यका कतीपय शहरहरु मानबरहित वस्तीमा बदलीएका छन्’ एक सुरक्षा अधिकारीले भनेका छन् ‘त्यहाँ आपतकालीन फोन सेवा समेत बन्द छ।’ एक सय तीस माइल प्रतीघण्टाका गतिले हुरी चलेको र भारी बर्षा समेत भएका कारण मुख्य शहरका सडक भाँचिएका रुखका हाँगा र भौतिक संरचनाका भग्नावशेषले अवरुद्ध देखिन्छन्।

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अहिले आफुहरु आर्थिक क्षतीका बारेमा भन्दा पनि मान्छेको जीवनका बारेमा बढी चिन्तीत रहेको प्रतिक्रिया दिएका छन्। त्यसैगरी फ्लोरिडाका गभर्नर रिक स्कटले अहिले प्रार्थना बाहेक अरु केही गर्न सक्ने अवस्था नरहेको बताएका छन् । केही दिनअघि अमेरिकाकै टेक्सास राज्यको सामुन्द्रीक तटीय क्षेत्रमा आएकोे आँधीबेरी हार्भीले ठुलो भौतीक क्षती पुर्याएको थियो।