राजनीति

थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद् बन्यो इतिहासकै जम्बो...

काठमाडौं, २६ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक सरकार विस्तार गरेका छन्। राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक जना राज्यमन्त्रीलाई समेटेर प्रधानमन्त्री देउवाले सरकार विस्तार गरेका हुन्। 
राप्रपा प्रजातान्त्रिकका नवनियुक्त तीन जना मन्त्रीले सोमबार सपथ लिए । सरकारका सहभागी भएका तीन मन्त्रीले राष्ट्रिपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका नेता दिपक बोहोराले विज्ञान तथा प्रविधि, विक्रम पाण्डेले वन तथा भूसंरक्षण र सुनिलबहादुर थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सहभागी भएका थिए। राप्रपा प्रजातान्त्रिकका तीन मन्त्रीले सपथ लिएपनि उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामालाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री देउवाले सोमबारै सपथ खुवाउने छन्।
राप्रपा प्रजातान्त्रिकबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिएपछि प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ५४ सदस्यीय बनेको छ। प्रधानमन्त्री देउवाले २०५२ सालको आफ्नै रेकर्ड तोड्दै ५४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्। प्रधानमन्त्री देउवासँग अझै शान्ति तथा पुनर्निर्माण मन्त्रालय छ।