समाचार

एम्बुलेन्स र दमकल छिर्ने गरी बाटो बनाउन थालियो

काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिका वडा नं ३२ का वडा सल्लाहकार एवम् पुर्व वडा सदस्य हरिबहादुर बस्नेतले आफ्नो घर कम्पाउण्डको पर्खाल भत्काएर भित्री बाटो चौडा गर्ने कार्य आफैंले शुरु गरेका छन्  ।२०५४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य जितेको समयमा आफ्नो टोलमा गोरेटो बाटोलाई चौडा गर्नतिर ध्यान दिननसकेका बस्नेतले यसपालि भने आफ्नै घर कम्पाउण्डको पर्खाल भत्काएर ४ फिटको बाटोलाई चौडा गरि १३ फिट चौडा बनाउन पहल गरेका हुन् । 

२०७२ बैशाख १२ र २९ मा गएको महाभूकम्पपछि काठमाडौं महानगरका साँघुरा गल्ली र गोरेटोलाई कम्तीमा पनि १३ फिट चौडा गर्नुपर्ने नयाँ सरकारी नियम अनुसार साँघुरा बाटोलाई चौडा गरि १० देखि १३ फिटसम्म बिस्तार गरिने बस्नेतले बताए  । ‘महानगरको ३२ वं वडाका सबै गल्ली र साँघुरा बाटो अब चौडा बन्छन’ वडा नं ३२ का वडाध्यक्ष नवराज पराजुलीले भने—‘गर्ग गल्लीको बाटो चौडा गर्ने कार्य यसको शूरुवात हो ।’ 
वडा नं ३२ स्थित त्रिदेवीनगरको गर्ग गल्लीका करीव ५० घरलाई प्रत्यक्ष फाइदा पुग्नेगरि ४ फिटे गोरेटो बाटोलाई चौडा गरि ‘एम्बुलेन्स र दमकल’ छिर्नेगरि बाटो चौडा गर्न थालिएको हो । 

घरसम्म साइकल र मोटरसाइकलमात्रै छिर्ने बाटो हुँदा महानगरवासी भन्न लाज लाग्ने अवस्था भएकोले टोलबासी सबैको आपसी सहमतिमा गोरेटो बाटोलाई चौडा गरि ब्लक ओच्छ्याउन थालिएको बस्नेतले बताए ।  
गोरेटोलाई चौडा गर्ने क्रममा कसैको व्यक्तिगत घर नभत्काएतापनि टहरा र पर्खाल भने भत्काएर बाटो चौडा गरिएको र यो कार्यलाई नमुनाको रुपमा ३२ वडाका सबै टोलमा बिस्तार गरिने सल्लाहकार बस्नेतले बताए । 
काठमाडौं ‘महानगर’ भईसकेतापनि भौतिक पुर्वाधार, चौडा सडक, खानेपानी, फोहोरमैला व्यस्थापन, विजुली, टेलिफोन र केवलका तार व्यवस्थापन, २४ सैं घण्टा यातायातका साधन पाउन महानगरवासी अझैं प्रतिक्षारत छन्  ।

महानगरका पुराना गल्लीभित्रका घरहरुमा आगलागी हुँदा समयमै दमकल पुग्ने र त्यहाँका वासिन्दा विरामी हुँदा घरसम्म एम्वुलेन्स पुग्न नसक्ने गल्ली अझै धेरै छ भने शहरका नयाँ बस्तीहरुमा पनि गोरेटो बाटोमात्रै भएका थुपै्र ठाउँ देख्न पाइन्छ ।  बाटो चौडा गर्ने क्रममा पर्खाल र टहरा भत्काएर नयाँ बनाउँदा लाग्ने खर्च सकभर घरधनीले नै व्यहोर्ने बाटोलाई नै अवरोध हुनेगरि घर भत्काउनुपरेमा टोलबासीसंग क्षतिपुर्तिको रुपमा धेरथोर आर्थिक सहयोग संकलन गरिने पनि बताइएको छ । 

गोरटोलाई चौडा गरि बनाएको बाटोमा सिमेण्टको ब्लक बिच्छ्याउन महानगरपालिकाबाट करीव ८ लाख ४५ हजार रुपैयाँ बजेट निकासा भएको र करीव २ लाख अर्थात २० प्रतिसत रकम स्थानीय उपभोक्ताबाट संकलन गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सुर्दशन बस्नेतले बताए ।  स्थानीय मिलनसार सहयोगी समाज कोटेश्वर अन्तर्गत गर्गगल्ली उपभोक्ता समिति गठन गरिएको छ । बासुदेव केसीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुदर्शन बस्नेत, सचिवमा सुशिल खतिवडा र कोषाध्यक्षमा कान्छाकाजी बज्राचार्य छन् । सडक चौडा गरेर पर्खाल लगाउन तिनै उपभोक्ता समितिका सदस्यहरुबाट चन्दा संकलन तथा श्रमदान गरिएको अध्यक्ष बासुदेव केसीले बताएका छन् ।